बालमैत्री स्थानीय तह निर्माणको अभियानमा अपनत्व ग्रहण गरौं : उपप्रधानमन्त्री सिंह
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/prakshh-1296x700.jpg)
१ फागुन, हेटौँडा । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले बालबालिकाको सर्वाङ्गीण विकासका लागि राज्यसँगै परिवारको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
विहीबार हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा आयोजित समारोहमा हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री मन्त्री सिंहले यस्तो बताएका हुन् ।
उनले परिवारबाट बालबालिकामा आफ्नो भूमिका निर्वाह गरी बालमैत्री स्थानीय तह निर्माणको अभियानमा अपनत्व ग्रहण गरेर अघि बढ्नु पर्ने धारणा राखे ।
बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र संघ सरकारले काम गर्नुपर्ने पनि सिंहले बताए ।
उपयुक्त योजना र रणनीतिसहित बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै उनले बालमैत्री नगर घोषणासँगै यसको दिगोपनमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।
‘हेटौँडाले व्याप्त कुरीति हटाउन एक्सनमा उत्रिएर वैज्ञानिक सूचक पार गरेर बालमैत्री घोषणा अभियानलाई सार्थकता दिन सफल भएको छ’ उनले भने, ‘हेटौँडा अहिले व्यवस्थित सहरको रूपमा विकास भइरहेको छ ।
नगरपालिकाबाट विस्तार हुँदै उपमहानगरपालिका र अब महानगरपालिकामा परिणत हुने चरणमा हेटौँडा पुगेको छ । उपमहानगरपालिका क्रमशः रूपमा समस्या र चुनौतीहरूको व्यवस्थापन सहित त्यसतर्फ अग्रसर भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्