परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह

काठमाडौँ, ४ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आज साइडलाइन भेट भएको हो । सो भेटका क्रममा उनीहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्तिलगायतका विषयमा कुराकानी भएको थियो ।
त्यसअवसरमा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गरेका थिए । मन्त्री डा देउवाले इजरायल सरकार र हमासका बीचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेका थिए ।
केही समय अघि पनि मन्त्री डा देउवाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेका थिए । खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।
विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आएका छन् । सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी हमास समूहले विपिनलाई अपहरण गरी लगेका थिए ।
प्रतिक्रिया दिनुहोस्