अन्तर्राष्ट्रिय महिला फुटबलको तयारी पूरा

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
सोमवारदेखि काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानको सहभागिता हुनेछ ।
प्रतियोगिता खेल्नका लागि सहभागि हुने टोलीहरु सबै नेपाल आइसकेको र भोली हुने उद्घाटन खेलमा नेपाल किर्गिस्तानसँग खेल्ने महिला फुटबल टिमका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए ।
उनले अहिले किर्गिस्तान बलियो भएको र यसले नेपाललाई जित निकाल्न गार्हो हुनेपनि बताए ।
उनले भने,‘किर्गिस्तानसँग ६ वर्ष अगाडि खेल्दा ८—२ भएर जितेका थियौं । पहिले र अहिले किर्गिस्तानले खेल्ने फुटबल फरक देखिन्छ । हाम्रो पनि बलियो पक्ष भनेको चाहीं ग्रेट स्टक्चर हो । त्यसैले पनि टिमको संरचना बलियो बनाएर लानुपर्नेछ । काउन्टर एट्याकमा उनीहरु राम्रो देखिन्छ । हामीले जित त निकाल्छौ तर गार्हो चाहीं छ ।’
यस्तै नेपाली महिला टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगिता नेपालको लागि ठुलो अवसर भएको बताइन् ।
प्रतिक्रिया दिनुहोस्