जनकपुरधाम उपमहानगरपालिकाले नीजि विद्यालयलाई कडाई गर्ने

५ फागुन, जनकपुर । तरकारी बजारमा तरकारी बेचेजस्तै जनकपुरधामको चोक र गल्लीहरुमा खुलेका बिना दर्ता र मापदण्ड विपरीत नीजि विद्यालयहरुलाई कानुनी दायरामा ल्याउन जनकपुरधाम उपमहानगरपालिकाले पहल सुरु गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले वडाहरुसंग नीजि विद्यालयहरुको विवरण मागेको छ । उपमहानगरको शिक्षा तथा खेलकुद शाखाले एक पत्र लेख्दै वडाभित्र संचालनमा रहेका नीजि विद्यालयहरुको विवरण माग गरेको हो ।
उपमहानगरको गत पुस २ गतेको बैठकबाट वडाहरुसंग नीजि विद्यालयहरुको विवरण माग गर्ने निर्णय गरिएपनि सो अनुसार विवरण उपलब्ध नगराइएकाले पुनः फागुन ४ गते पत्र लेख्दै तीन दिनभित्र विवरण उपलब्ध गराउन वडाहरुलाई भनिएको छ ।
यसका साथै विवरण संकलन गर्दा ती विद्यालयहरुको अनुगमन गरी कति कक्षासम्मको अनुमति लिएको, कति कक्षासम्म संचालन भइरहेको, विद्यालय संचालनका लागि नियमानुसार अनुमति लिए नलिएको विवरण समेत उल्लेख गर्न जनकपुरधाम उपमहानगरको शिक्षा तथा खेलकुद शाखाका प्रमुख धीरेन्द्र लाल कर्णद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्