९ फाल्गुन २०८१, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्दछ : दिनेश कुमार थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दै थपलियाले निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्ने बताएका हुन् ।

उनले भने, ‘सम्वत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज मिति २०८१ साल फागुन ७ गते हामी दिवस सँगसँगैं ‘निर्वाचनको प्रभावकारिताः आम नागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ नवौं निर्वाचन दिवस मनाइरहेका छौं । यस शुभ अवसरमा म सम्पूर्ण नेपाली मतदाताहरूमा निर्वाचन दिवसको हार्दिक शुभकामना दिन चाहन्छु । साथै, आयोगलाई निरन्तर हौसला र प्रेरणा प्रदान गर्नुहुने अग्रज एवम् शुभेच्छुकप्रति सम्मान प्रकट गर्दै निर्वाचन प्रक्रियामा आयोग सँगसँगै क्रियाशील रहने मतदातालगायत सबै सरोकारवालाको अमूल्य योगदानको प्रशंसा गर्न चाहन्छु । इतिहासका सबै कालखण्ड र राजनीतिक परिवर्तनका हरेक नयाँ उपलब्धिमा मुलुकले अंगिकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान र कानून बमोजिम निर्वाचनको माध्यमबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व निर्वाह गर्न पाएकोमा खुशी व्यक्त गर्दछु।’

साथै उनले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचनहरू मार्फत् जनप्रतिनिधिहरू निर्वाचित भई जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक संघीय शासन प्रणालीको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह भएको समेत बताए ।

उनले निर्वाचन जनताको सर्वाधिक सहभागिता र सरोकार अपेक्षित हुने गतिविधि भएको हुनाले निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्