९ फाल्गुन २०८१, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का अवसरमा मूलसमारोह समितिले सैनिक मञ्च टुँडिखेलमा बुधबार आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भएका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि गरिनुका साथै शान्तिका प्रतीक परेवा उडाइएको थियो । त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्काउट , सशस्त्र प्रहरी बलद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो ।

काठमाडौ उपत्यकाका विभिन्न नगरपालिकाले सो अवसरमा बाजागाजासहित विविध सांस्कृतिक झाकी प्रस्तुत गरेका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसदहरू, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्