फागुन ७ हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवस अर्थात फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउन दृढ संघर्ष अघि बढाएको बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा टुंडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै उनले फागुन ७ गते आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका हुन् ।
उनले भने, ‘समग्रमा फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्ष अघि बढायो । यसरी हामी फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउँछौं । शहीदहरुको महान त्यागलाई सम्झन्छौं । नयाँ पुस्तालाई, उनीहरुको उज्ज्वल भविष्यको लागि, पुर्खाले भोगेको हण्डर, ठक्कर तथा बलिदान र समर्पणको महान–गाथा स्मरण गराउँछौं । फागुन ७ गते ! आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पु¥याएको दिन हो ।’
साथै, उनले फागुन ७ गतेले हाम्रो, खेर गएको सिङ्गो शताव्दीको स्मरण समेत गराएको बताए । उनले सत्य/तथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव प्रवर्तनमा लाग्नेहरुको जात काडिएको जस्ता पिडादायी घटनाहरुको याद यो दिनले गराउने गरेको बताए ।
साथै, उनले जहानियाँ राणा तन्त्रको विरुद्ध आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठसहित सम्पूर्ण अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे ।
उनले हाम्रो भविष्यका रुपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन समेत भएको बताए ।
उनले भने, ‘पुस्तान्तरको समयचापले कहिलेकाँही न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ ? त्यसले त अझै राणाकालका दरवारहरुबाट निर्वाह गरिरहेको छ !’ जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरवार बनायो, प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली, व्यवसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनायो । निरंकुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन सक्छ र ? यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ ।’
फागुन ७ गते, नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीर÷वीरङ्गनाहरुको स्मरण गर्ने दिन पनि रहेको बताए ।
उनले प्रजातन्त्र स्थापनाको हाम्रो संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न संकल्प गर्ने दिन फागुन ७ नै भएको बताए ।
प्रतिक्रिया दिनुहोस्