९ फाल्गुन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाल एक खेलअगावै फाइनलमा, म्यानमारसँग खेल्‍ने

८ फागुन, काठमाडौं । नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् ।

नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो । यीबाहेक दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् ।

१०औं मिनेटमा क्रिस्टी मालोफको प्रहार एन्जिलाले बचाइन् । ११औं मिनेटमा बिमलाले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो । १३औं मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औं मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो ।

१७औं मिनेटमा रेखा पौडेलले सबिता रानामगरको क्रसमा हेडर मिस गरेकी थिइन् । २३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइड गयो । २६औं मिनेटमा बिमला चौधरीको हेडर फितलो रहँदा लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन् । त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ ।
३१औं मिनेटमा लेबनानले पनि अर्को मौका गुमायो । थ्रु मार्फत आएको उत्कृष्ट पासलाई लेला इस्कन्दरले सदुपयोग गर्न सकिनन् । ३७औं मिनेटमा क्रिस्टी मालुफको प्रहार साइड नेटिङ हुन पुग्यो ।

दोस्रो हाफको ५९औं मिनेटमा साम्बाको पासमा सबिताले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो । ८६औं मिनेटमा सावित्राको प्रहारले पोस्टको दिशा लिन सकेन ।

इन्जुरी समयको पहिलो मिनेटमा जहवा अराबीको प्रहार बारमा लागेर फर्कँदा लेबनान बराबरी गर्नबाट चुकेको थियो ।

समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्