९ फाल्गुन २०८१, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

ज्येष्ठ नागरिक, महिला, अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा

भक्तपुर, ९ फागुन । आफ्ना नगरवासीलई घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा तथा महिला सु–स्वास्थ्य कार्यक्रम शुभारम्भ गरेको छ ।

मध्यपुरथिमि नगरपालिकाले ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा गर्भवती महिला र ‘क’ वर्गका अशक्तहरूका लागि बिहीबार नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरपालिका–६ पाटीबिहारबाट निःशुल्क घरदैलो स्वास्थ्य सेवाको शुभारम्भ गरेका हुन् ।

नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालका मेडिकल अधिकृतको संयोजकत्वमा चिकित्सक, नर्स, ल्याब असिस्टेन्टसहित आवश्यक स्वास्थ्यकर्मीसहितका जनशक्ति प्रत्येक दिन वडावडामा पुगेर सेवा दिन सुरु भएको हो ।

नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा हाल दैनिक एक हजार हाराहारीमा सेवाग्राही आइरहेको अवस्थामा ज्येष्ठ नागरिक र गर्भवती महिलालाई अस्पतालमा आएर घण्टौँ लाइन बस्न नपरोस् भनेर यो सेवा शुभारम्भ गरेको बताए ।

अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले प्रत्येक वडामा महिनाको दुईपटकका दरले वडावडामा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र घरबाहिर सेवा लिन जान नसक्ने अशक्त एवं ज्येष्ठ नागरिकलाई घरदैलोमा नै गएर स्वास्थ्य सेवा उपलब्ध गराइने उनले बताए ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगका बिरामी अब अस्पतालसम्म धाउनु नपर्ने र आफ्नै वडामा महिनामा दुईपटक स्वास्थ्य जाँच गराएर औषधि लिन सक्नेगरी अभियान सुरु गरेको बताए । यो अभियानबाट गम्भीर रोग लाग्नुअगावै रोगको पहिचान गर्न मद्दत पुग्ने र समयमै उपचारमा टेवा पुग्ने उनले बताए ।

नेपाल–कोरियामैत्री नगर अस्पतालका प्रमुख डा दीपेन्द्रकुमार रोशनले नगरवासीलाई अब सहज स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने बताउँदै ज्येष्ठ नागरिक, अशक्त, गर्भवती महिलालाई वडावडा र घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदा सबैलाई स्वास्थ्यको पहुँचमा पुर्याउन सकिने बताए।

मध्यपुरथिमि नगरपालिकामा १० हजार ३५ जना ६० वर्ष उमेरमाथिको जनसङ्ख्या रहेको स्वास्थ्य शाखा संयोजक श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य बिमा नगरेका सो उमेर समूहका ज्येष्ठ नागरिक र महिला स्वास्थ्यअन्तर्गत गर्भवती महिलाको नगरपालिकाले निःशुल्क बिमा गरिदिने उनले बताए ।

यो अभियानमा सम्पूर्ण ल्याब सेवा, बिमामा पर्ने सम्पूर्ण उपलब्ध औषधि, आवश्यकानुसार अल्ट्रासाउन्ड भिडियो एक्सरे सेवा, आवश्यकतानुसार विशेषज्ञ सेवा नागरिकले आफ्नै वडामा पाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्