केपी ओली कप हेर्न विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने

९ फागुन, काठमाडौं । फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन् ।
इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आउन लागेका हुन् ।
केपी ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बफोन नेपाल आउने पक्का भएको पुष्टि गरे ।
केपी ओली कपको तेस्रो संस्करण यही फागुन ११ देखि १९ गतेसम्म हुनेछ । त्यस प्रतियोगिताको फाइनल खेल दौरान बफोन काठमाडौंमा आउने थेवेले जानकारी दिए ।
बफोनअघि ब्राजिलका स्टारहरु रोनाल्डिन्हो र रोबर्टो कार्लोस जस्ता खेलाडीहरुलाई ल्याउने प्रस्ताव गरेपनि उनीहरु नआउने भएपछि बफोनलाई ल्याउन लागिएको राष्ट्रिय युवा संघ नेपालका सचिव निरोज पौडेलले जानकारी दिए ।
संघका अध्यक्ष थेवेका अनुसार बफोन ल्याउनका लागि सम्झौता समेत भइसकेको छ ।
बफोन नेपाल आए उनी नेपालमा आउने विश्व फुटबलकै ठूला नाम हुनेछन् । सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए ।
बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । केपी ओलीकपको तेस्रो संस्करणमा दुई विदेशी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जसमा क्वाटरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स तथा सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा हुने राष्ट्रिय युवा संघ नेपालका सचिव निरोज पौडेलले जानकारी दिए ।
बफोनलाई फागुन १७ गते मार्च १ तारिख नेपाल ल्याउने तयारी रहेको संघका सचिव पौडेलले जानकारी दिए । उनले दशरथ रंगशालमा फाइनल खेल अवलोकन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्