१० फाल्गुन २०८१, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा विछ्याउँदै कामपा

काठमाडौँ, ९ फागुन । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउने भएको छ ।

महानगरका लागि कूल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा विछ््याउने लक्ष्यसहित काम भइरहेको जनाएको छ ।

महानगरको सार्वजनिक निर्माण विभागले चालु आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सात वटा प्याकेजमा आठवटा योजना कार्यान्वयन ल्याइएकोमा पाँचवटा योजना सम्पन्न भएको जनाएको छ ।

सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदलयात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदलमार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा विछ््याउने काम भइरहेको हो ।

विभागका प्रमुख सुरज शाक्यका अनुसार योजना वडा नं ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा काम भइरहेको छ । यसका लागि रु २९ करोड ४७ लाख ८८ हजार आठ सय ५९ लागत अनुमान गरिएको थियो ।

सम्पन्न भएका पाँच वटा योजनामार्फत १० हजार सात सय २९ वर्गमिटर क्षेत्रमा ढुङ्गा विछ्याइसकिएको छ । यसअन्तर्गत वडा नं ८ को जयवागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको एक हजार चार सय ८५ वर्गमिटर मार्गको काम सकिएको छ ।

यसको लागत रु एक करोड २६ लाख ६० हजार हो । वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको एक हजार आठ सय २५ वर्गमिटर मार्गमा ढुङ्गा विछ््याइसकिएको छ । यसको लागत रु एक करोड ५४ लाख ६८ हजार आठ सय हो ।

वडा नं २१ को लगन चोकमा दुई हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ । यसको लागत रु एक करोड ३६ लाख २९ हजार सात सय २७ रहेको छ ।

वडा नं २६ को कुमारीकृपा मार्गको एक हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा पाँच सय २० वर्गमिटर क्षेत्रमा रु ४४ लाख ८७ हजार ६ सयमा काम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्