दिल्लीमा दक्षिण एसियाली पर्यटन मेला, बोर्डले गर्यो साइड इभेन्टको आयोजना

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित यशोभूमिमा २०८१ फागुन ७ गतेदेखि तीन दिने दक्षिण एसियाकै सबैभन्दा ठूलो तथा प्रभावशाली पर्यटन मेला ‘साउथ एशिया ट्राभल एण्ड टुरिज्म एक्स्चेन्ज’ सम्पन्न भएको छ।
३५ हजार भन्दा बढी आगन्तुकहरूमाझ नेपालको विविध पर्यटकीय गन्तव्यहरू प्रवद्र्धन भएको यस मेलामा ३४ नेपाली ट्राभल तथा टुरिज्म कम्पनीहरूको विशिष्ट प्रतिनिधिमण्डलले नेपालको पर्यटन सम्पदाहरू प्रस्तुत गरेका थिए।
नेपाल पर्यटन बोर्डले उक्त मेलाका सहभागीहरूलाई नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्ने उद्देश्यले विशेष साइड इभेन्टको आयोजना गरेको थियो। साइड इभेन्टको उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी , प्रमुख अतिथिका रूपमा नेपालका लागि भारतस्थित राजदूत डा.शंकर शर्मा, नेपाल तथा भारतका उच्च पदस्थ सरकारी अधिकारीहरू, पर्यटन व्यवसायीहरू तथा विभिन्न मुलुकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख जोशीले नेपाल–भारतबीच सांस्कृतिक तथा भाषिक समानता रहेको उल्लेख गर्दै नेपाललाई भारतका लागि प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्ड प्रतिबद्ध रहेको बताए ।
उनले भारतको विशाल जनसंख्यालाई लक्षित गर्दै धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटन प्रवद्र्धन गर्न नवीन रणनीतिहरू अवलम्बन गरिएको जानकारी दिए ।
नेपाल पर्यटन बोर्डद्वारा प्रवद्र्धन गरिएका प्रमुख रणनीतिहरूमा सुदूरपश्चिम ट्राभल मार्ट, बौद्ध सर्किट, हिमालयन ट्राभल मार्ट लगायतका विशेष कार्यक्रमहरू रहेको जानकारी गराइयो।
नेपाल भ्रमणका लागि भारतीय पर्यटकहरूको आकर्षण बढ्दै गइरहेको सन्दर्भमा सडकमार्गबाट नेपाल आउने पर्यटकहरूको तथ्याङ्क व्यवस्थापन गर्न प्रभावकारी प्रणाली आवश्यक रहेको राजदूत शर्माले औंल्याए ।
साथै, नेपाल पर्यटन प्रवद्र्धनका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी थप प्रभावकारी कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
साइड इभेन्टमा सहभागी भारतको उत्तर प्रदेश सरकारको पर्यटन विभागकी उपनिर्देशक प्रीति श्रीवास्तवले नेपाल–भारत पर्यटन प्रवद्र्धनलाई अझ सशक्त बनाउन संयुक्त कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, नेशनल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)का प्रमुख कुमारमणि थपलियाले पर्यटन मेलाले ‘पिपल टु पिपल’ र ‘बिजनेस टु बिजनेस’ सम्बन्ध विस्तार गर्दै नयाँ बजार पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
नेपाल पर्यटन बोर्डले सक्रिय सहभागिता जनाएर अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेकोमा सरोकारवालाहरूले प्रशंसा गरेका छन्। यस किसिमका अन्तर्राष्ट्रिय मेलाले नेपालको पर्यटन क्षेत्रलाई विश्वबजारमा थप प्रवद्र्धन गर्दै नयाँ व्यावसायिक अवसरहरू सिर्जना गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्