‘सबै वर्ग र समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने प्रबन्ध गरौँ’

काठमाडौँ, ११ फागुन । राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले सबै वर्ग र समुदायका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने यथोचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको आजको बैठकको शून्य समयमा उनले बालबालिकाले फरकस्तरको शिक्षाका कारण कुनै पनि हिनता महसुस गर्न नपरोस् भन्ने तर्फ ध्यान दिन आग्रह गरे ।
हरेक वर्ष विद्यालय भर्ना समय नजिकिँदै गर्दा अभिभावकमा चिन्ता थपिने गरेको उल्लेख गर्दै सांसद गौतमले सरकारी र सामुदायिक विद्यालयमा गुणस्तरीय पठनपाठनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । “निजी विद्यालयमा प्रत्येक वर्ष महँगो भर्ना र थप ट्युसन शुल्क, बार अनुसारका फरक पोसाक, र विभिन्न शीर्षकमा उठाइने शुल्कबाट अभिभावक थप आर्थिक समस्यामा पर्ने गरेका छन्”, उनले भने, “सबै बालबालिकाले समानरुपमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारको सुनिश्चितताका गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ ।”
सांसद शारदादेवी भट्टले नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले भोग्दै आएका अप्ठ्यारालाई समाधान गर्नका लागि सम्बन्धित मुलुकमा सहायता ‘डेस्क’ राख्न आग्रह गरे ।
सांसद जगप्रसाद शर्माले सिंहदरबार वैद्यखानालाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद तारामान स्वाँरले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक दिनप्रतिदिन असुरक्षित बन्दै गइरहेकाले सीमा सुरक्षा थप चुस्त बनाउन माग गरे । सांसद तुलसाकुमारी दाहाल, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र सुमित्रा विसीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइन्।
प्रतिक्रिया दिनुहोस्