११ फाल्गुन २०८१, आईतवार
कर्णाली जीवनशैली मुख्‍य समाचार समाचार समाज

मुगुका कृषक स्याउ खेतीमा आकर्षित, प्राविधिक ज्ञानको अभाव

११ फाल्गुन, मुगु । मुगुमा सडक संजाल विस्तार भएसँगै उत्पादित स्याउको माग बढ्न थालेको छ । स्याउको माग बढेपछि कृषकहरु खेतीप्रति आकर्षित छन् ।

यतिबेला यहाँका कृषक स्याउको बिरुवाको काँटछाँट, गोडमेल, मलजल गर्ने चटारोमा छन् ।

माघ–फागुन महिना स्याउका बिरुवामा पालुवा, कोपिला हाल्ने समय भएकाले अनावश्यक हाँगा काँटछाँट, गोडमेल, मलजल गर्ने उपयुक्त मानिन्छ ।

त्यसैले काँटछाँट, गोडमेल, मलजल, निलोतुथो, चुना लगाएपछि स्याउको उत्पादन राम्रो हुन्छ । त्यसैले स्याउ पकेट क्षेत्र रहेको ताल्चा, पिना, झ्यारी, कोटीला, बाम, रोवा, सोरुकोट ,कालापाल्त, धैन, सेरी, जाम, रासकोटीवाड, खमाले, लुमेरा, कोटीलामा कृषकहरु स्याउ बगैचामा व्यस्त देखिन्छन् ।

१५ बर्षको उम्मेरमा घर परिवारसहित भारतको हिमान्चल प्रदेशमा ३२ बर्षसम्म बसेर काम गरेका कृषक जसन्त कुलाल भारतबाटै विरुवा ल्याएर स्याउ खेतीमा सक्रिय रहेको बताउछन् । ‘यतिबेला आफ्नै बगानमा पाँच सय स्याउका फल दिने बिरुवा छन् । दुई हजार पाँच सय साना बिरुवा छन् । हामी पाँच जना स्याउ स्याहर्ने काममा व्यस्त छौ,’ उनले भने ।

‘बिगतका बर्षहरुमा ‘कोदो, जौ, गहुँ, तरकारी खेतीले बालबच्चा र घर चलाउन समस्या भयो । पछिल्लो समयमा सडक सन्जाल जोडिएपछि स्याउको माग बढ्न थाल्यो । त्यसैले पुरानो काम छाडेर स्याउ खेती शुरु गरेका हौं । अहिले घरखर्च र छोराहरुको पढाइ खर्च स्याउ खेतीले धानेको छ, बिहान उठेदेखि बेलुकीसम्म स्याउकै काममा व्यस्त छु’, छाँयानाथ रारा नगरपालिका १० का कृषक कर्णसिंह सेजुवालले भने ।

‘जै, गहँु ,फापर,कोदो, आलु खेतीबाट राम्रो आम्दानी नभएकाले स्याउ खेतीबाट राम्रो हुने भएकाले एक दशकदेखि यसमै सक्रिय छु’, अगुवा कृषक मणिचन्द्र भामले भने ।

मुगु जिल्ला स्याउ खेतीका लागि उपयुक्त हावापानी भएको जिल्ला हो । जिल्लाभर क्षेत्रफलको हिसावमा स्याउ उत्पादन हुने पाँच सय ५ हेक्टर क्षेत्रफल भएपनि फल दिने स्याउ ३ सय ७५ हेक्टरमा फैलिएको छ ।

कृषकहरुले व्यवसायिक स्याउ खेती गरि रहेको भएपनि प्राविधिक ज्ञानको अभाव रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइका प्रमुखले बताए ।

प्रतिक्रिया दिनुहोस्