१९ फाल्गुन २०८१, सोमबार
अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य धान–चामल आयात

वीरगञ्ज पर्सा, १८ फागुन । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको सोही अवधिमा यो नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए । “गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।”

कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ ।

चालु आवको सात महिनामा यो नाका हुँदै रु एक अर्ब ३५ करोड मूल्यको एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको छ ।

जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब छ करोडको ८१ लाख १७ हजार एक सय ३० किलोग्राम चामल आयात भएको थियो ।

चालु आवको सात महिनामा रु दुई अर्ब ९६ करोड मूल्यको पाँच करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलोग्राम मकै आयात भएको छ ।

जबकि गत आवको सोही अवधिमा भने रु दुई अर्ब ९७ करोड मूल्य पर्ने छ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो ।

गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्