१९ फाल्गुन २०८१, सोमबार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

सौगात र गीताञ्जली स्टार ‘जार’मा समावेश ‘ए ठुली’ सार्वजनिक

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ ।

आगामी बैशाख २६ (मे ९)लाई प्रदर्शन मिति तय गरेको निर्माण कम्पनी फेरी टेल पिक्चर्सले आइतबार ‘ए ठुली’ बोलको गीत रिलिज गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापा फिचर्ड छन् । गीतमा समावेश संगीत, शब्द र दृश्यले सयौँ वर्ष पुरानो नेपाली समाजको प्रतिनिधित्व गर्छन् ।

सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई फिल्मले बोल्नेछ । तत्कालिन समाजको परिवेश सुहाउँदो प्रस्तुति गीतमा चित्रण गरिएको छ ।

गीतमा झुमा लिम्बु र पवन गिरीको स्वर समावेश हुँदा हर्क साउदको शब्दमा संगीत एरेञ्जको काम गंगा थापाले गरेका छन् । मिक्सिङ र मास्टरिङ विश्व शाहीको छ ।

फिल्म ‘जार’को शीर्ष भूमिकामा अभिनेताद्वय सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन् । ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन् ।

फूर्वा छिरिङ लामाको निर्देशनमा तयार यो फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । अधिकांश कलाकार र सम्पूर्ण प्राविधिक टिम भारतबाट नै छन् । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिसँघ सम्झौता भएको छ भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमाले लिएको छ । सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्