मिथिला माध्यमिकी परिक्रमा आज जलेश्वरमा

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको जलेश्वर पुगेको छ । आइतबार मटिहानीमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री जलेश्वर प्रस्थान गरेका छन् ।
परिक्रमालाई मध्येनजर गर्दै जलेश्वर नगरपालिकाले आज पालिकाभरि सार्वजनिक विदा दिएको छ ।
धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली चौथो दिन मटिहानी पुगेको थियो ।
आज पाँचौं दिन जलेश्वरमा रात्रि विश्रामपछि छैटौँ दिन भोलि मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको वासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।
त्यसपछि धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।
नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।
परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।
प्रतिक्रिया दिनुहोस्