सर्वधर्म साधनाका प्रणेता रामकृष्ण परमहंसको प्राकट्य दिवस

काठमाडौँ, १९ फागुन । आफ्नो मुक्ति र जगतको हितका लागि आध्यात्मिक साधनाको शिक्षा दिने सन्त रामकृष्ण परमहंसको प्राकट्य दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
सन् १८३६ फागुन शुक्ल द्वितीयाका दिन भारतको पश्चिम बङ्गालस्थित कामारपुकर भन्ने गाउँमा रामकृष्ण परमहंसको जन्म भएको थियो ।
सबै धर्मका साधनाबाट आध्यात्मिक लाभको अनुभूति गरेका रामकृष्णको सिद्धान्त नै सर्वधर्म संवाद भएको रामकृष्ण आश्रम, नेपालका अध्यक्ष स्वामी एकार्थनन्द बताउछन् ।
रामकृष्ण परमहंसको प्राकट्य दिवसका अवसरमा रामकृष्ण आश्रम, नेपालले ज्ञानेश्वरस्थित आश्रममा पूजा, पाठ, हवन, प्रवचन, भण्डारा एवं प्रसाद वितरण गरेको छ ।
कार्यक्रममा प्रवचन गर्दै स्वामी एकार्थनन्दले आनन्द अनुभूतिका लागि आध्यात्मिक साधनाको आवश्यकतामा जोड दिएका थिए । रामकृष्ण परमहंसका १६ सन्यासी शिष्यमध्ये स्वामी विवेकानन्द एक हुन् ।
रामकृष्ण परमहंसको पहिलो गुरू भैरवी ब्राह्मणी हुन् । त्यसपछि उनले प्रत्येक धर्म र सम्प्रदायका गुरूबाट साधना गरी सबैको अनुभव हासिल गरेका थिए ।
उनले तन्त्र, वेदान्त, वैष्णवमार्गलगायत सनातन हिन्दू धर्मका सबै सम्प्रदायका साथै इस्लाम र क्रिश्चियनलगायत धर्मका साधना पनि गरेका स्वामी एकार्थनन्दले बताए ।
‘सबै बाटोबाट भगवान्मा पुगिन्छ’ । ‘जति मत, त्यति पथ’ भन्ने जस्ता भावनाबाट रामकृष्ण परमहंस प्रेरित थिए। ‘शिव ज्ञानले जीव सेवा’ भन्दै उनी मानव सेवामा जुट्ने गर्थे ।
प्रतिक्रिया दिनुहोस्