हिउँ खेल्न लोभिएका आन्तरिक पर्यटक रूकुम पूर्वमा

रूकुम पूर्व, १९ फागुन हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ । हिउँ हेर्न र खेल्न जानेहरूको लागि रहरको विषय हो, तर हिउँसँगै गुजारा गर्नेहरूको पीडा छुट्टै हुन्छ ।
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा वर्षमा एक÷दुईपटक अनिवार्य हिउँ परेकै हुन्छ । यस वर्ष पनि गत साता शुक्रबार र शनिबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भयो भने तल्लो क्षेत्रमा वर्षा भयो । जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रहरू हिमपात भएपछि सेतै भए ।
कालो पत्थरमा परिणत भइसकेको सिस्ने हिमाल सेताम्य भएको छभने पुथा हिमाललगायत धौलागिरि रेञ्ज पूरै सेताम्य छ । मध्यपहाडी लोकमार्गको लुकुम पातिहाल्ना खण्डको पाँच÷सात किलोमिटर दूरीको मोटर यात्रामा हिउँसँग साक्षात्कार हुँदै गर्न सकिन्छ । रूकुम पूर्व–बागलुङ सिमाना पातिहाल्नाबाट उकालो चढेर चौँरी लेक र किलाचन लेकमा पुग्दा त्यहाँबाट देखिने सिस्ने हिमाल, पुथा हिमालको दृश्यसँगै सुन्दर ढोरपाटनको फाटले मानिसहरूलाई मन्त्रमुग्ध बनाउने गर्दछ ।
हिउँ परेसँगै आन्तरिक पर्यटकहरू लोभिने गर्दछन् । पातिहाल्नामा अहिले दैनिक हिउँ खेल्नेहरूको भीड लाग्ने गर्छ । यस क्षेत्रमा रूकुम पूर्वको विभिन्न ठाउँसहित रोल्पा, रूकुम पश्चिम, बागलुङ, दाङ, सल्यानबाट हिउँ खेल्न आउने गरेका छन् । कतिपय मानिसहरू पोखरा र बुटवलबाट समेत हिउँ खेल्न पातिहाल्नामा पुगेको होटेल व्यवसायी किस्मत घर्तीले बताए । हिउँ परेको समयमा हिउँ खेल्न आउने मानिसहरूको जमघटले होटलमा भ्याइनभ्याइ हुने गरेको उनले सुनाए । टाढाबाट आएका मानिसहरू बास बस्न खोज्छन्, होटेल व्यवसायी घर्तीले भने, यो पातिहाल्नामा दुईवटा कटेज मात्र छन्, पाहुनाहरूलाई बास बसाल्न सकिने अवस्था छैन् । तर हिउँ परेको समयमा आन्तरिक पर्यटकहरूको जमघटले यो क्षेत्रमा रौनकता थप्ने गरेको उन्को भनाइ छ ।
मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने सबै यात्रुहरूले पातिहाल्नामा एकछिन गाडी रोकेर वरपरको दृश्यलाई नियाल्ने र फोटो क्लिक गरेर मात्र आफ्नो यात्रालाई अगाडि बढाउने गरेका छन् । पातिहाल्नामा हिउँ परेपछि बर्सेनी आफूहरू समूह बनाएर हिउँ खेल्न आउने गरेको रूकुम पश्चिमबाट आएका चन्द्रबहादुर कँुवरले बताउए । यसै पनि यो क्षेत्र रमणीय भएको र यहाँबाट अन्य विभिन्न गन्तव्यहरूमा जान सकिने भएको कारण अन्य समयमा पनि आउने गरेको बताउँदै उन्ले हिउँ परेको समयमा जसरी नि यहाँ पुग्ने गरेको सुनाए ।
प्रायः मानिसहरू हिउँ खेलेर पातिहाल्नाबाट फर्कने गरेका छन् । केही मानिसहरू थप सुन्दर दृश्यलाई नियाल्नका लागि किलाचन र चौँरी लेकसम्म पुग्ने गरेका छन् । चौँरी लेकबाट यतिबेला सिस्ने हिमाल र पुथा हिमालसँगै धौलागिरि रेन्ज र ढोरपाटनको सुन्दर फाँट बडो गजब देखिने गरेको रोल्पाका मिलन मगरले बताएका छन् । यो चौँरी क्षेत्र हिउँदमा हिउँको घुम्टो ओढ्दा र बर्खामा आगनभरि रङ्गीविरङ्गी फूलहरू फुल्दा निकै सुन्दर देखिने उहाँले बताए ।
पातिहाल्ना क्षेत्रमा हिउँ नपग्लिँदासम्म हिउँ हेर्न आउने आन्तरिक पर्यटकहरूको आगमन नरोकिने भूमे गाउँपालिका–१ का दिलचन पुनले बताए । पातिहाल्नामा दैनिक रूकुम पूर्वसहित विभिन्न छिमेकी जिल्लाहरूबाट आउने आन्तरिक पर्यटकहरू फोटो, भिडियो खिच्न, टिकटक बनाउनमै व्यस्त देखिने गरेको उनले बताए । कतिपय मानिसहरू एकअर्कालाई हिउँ हानेर रमाइरहेको दृश्य पनि देख्न सकिन्छ । रूकुम पूर्व, बागलुङ र रोल्पा तीन जिल्लाको सिमानामा रहेको पातिहाल्ना र यस आसपासको क्षेत्र प्रचुर पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।
प्रतिक्रिया दिनुहोस्