योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल

१९ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन् ।
सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताए ।
उनले भने, ‘जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारिलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ ।’
राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गरे ।
उनले दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको बताए ।
उनले नेपालको निजामती प्रशासनिक क्षेत्रमा निष्ठा, इमान्दारिता र कर्तव्यपरायणताको उदाहरणीय प्रतिमान स्थापित गरेका लमजुङ, दुराडाँडाका स्वर्गीय नरकान्त अधिकारी तथा न्याय प्रशासनको क्षेत्रमा उच्चतम इमान्दारिता, कर्तव्यनिष्ठा र क्षमताको परिचय दिएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश, सुखौरा, तनहुँ निवासी स्वर्गीय भैरवप्रसाद उपाध्यायको सम्मानमा स्थापित यी पुरस्कारहरू उनीहरूको योगदानको प्रतीक भएको बताए ।
उनले नरकान्त योग राष्ट्रिय पुरस्कार प्राप्त गरेका प्राडा विद्यानाथ उपाध्यायले नेपाली समाजमा शिक्षाको प्रवद्र्धन, योग तथा अध्यात्मको क्षेत्रमा पु¥याएका योगदान भैरव सदाचार राष्ट्रिय पुरस्कार पाउनुहुने मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले न्यायप्रतिको निष्ठा एवम् नेपालको संक्रमणकालीन समयमा देशलाई स्थायित्व प्रदान गर्न उनले पु¥याएकोे योगदान प्रशंसनीय रहेको पनी बताए ।
प्रतिक्रिया दिनुहोस्