२० फाल्गुन २०८१, मंगलवार
खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार समाज

राईनोलाई हराउँदै प्लानिङ ब्वाईज सेमिफाइनलमा

बाँके । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा भएको खेलमा राईनो फुटबल क्लब गण्डकीलाई २–० गोल अन्तरले हराउँदै प्लानिङ ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेपनि सफल हुन सकेनन् । दोस्रो हाफको ४७औँ मिनेटमा गोल गर्दै प्लानिङ ब्वाईज युनाइटेड क्लबका जर्सी नम्बर २८ का विदेशी खेलाडी एलेक्सले टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा प्लानिङ ब्वाईज विपक्षी राईनो फुटबल क्लबमाथि हाबि भएको थियो । खेलको अतिरिक्त समयमा मैदान प्रवेश गरेका प्लानिङ ब्वाईजका जर्सी नम्बर १४ का नम्बर सरोज कार्कीले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

प्लानिङका एलेक्स म्यान अफ र म्याच घोषित भए । उनलाई कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष डम्बर बहादुर खड्का र कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चिन्तामणी धितालले नगद पाँच हजारसहित म्यान अफ म्याच प्रदान गरेका थिए ।

प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल मंगलबार दिउँसो साढे ३ बजे अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुटबल क्लब सुर्खेतबीच हुने प्रतियोगिताका संयोजक कर्ण बस्नेतले बताए ।

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगितामा घाना र भारतीय सहित आठ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्