२० फाल्गुन २०८१, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सन्तनेता भट्टराईको चौधौँ स्मृति दिवस मनाइँदै

काठमाडौँ, २० फागुन । नेपाली कांग्रेसका संस्थापक सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।

विसं १९८१ पुस ८ गते जन्मेका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । उनी २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि दुई पटक प्रधानमन्त्री भएको थिए । विसं २०१५ मा भट्टराई संसद्को सभामुख रहेको थिए ।

सन्तनेता भट्टराई अडान भएको र आदर्शमा नचुक्ने नेताका रुपमा चिनिन्छन् । पञ्चायतकालमा उनी सुन्दरीजल बन्दीगृहमा लामो समय बिपी कोइराला र गणेशमान सिंहका साथमा बसेका थिए ।

भट्टराईको १४औँ स्मृति दिवसका अवसरमा ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज बेलुकी ६ बजे पशुपतिनाथ मन्दिरमा आरती कार्यक्रम आयोजना गर्न लागेको केन्द्रका अध्यक्ष लोकेश ढकालले राससलाई जानकारी दिए ।

यस अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले पनि देशभर विभिन्न कार्यक्रम आयोजना गरी उहाँको स्मृति दिवस मनाउँदैछन् ।

विसं २०८० पुस ८ देखि २०८१ पुससम्म भट्टराईको जन्म शताब्दी वर्ष मनाइएको थियो । सोही अवसरमा केन्द्र स्थापना गरिएको नेता ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्