नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा

काठमाडौँ, २० फागुन नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आगामी चैत ८ र ९ गते अधिवेशन गर्ने भएको छ । महासङ्घले काठमाडौँमा मुलुक भरका दुई हजार बढी उद्योगी–व्यवसायीको सहभागितामा अधिवेशन गर्ने भएको हो ।
अधिवेशनले महासङ्घको नयाँ कार्यसमिति चयन गर्ने जनाएको छ । यसअघि महासङ्घको विधानअनुसार २९९ सदस्यीय कार्यसमिति र १७ सदस्यीय पदाधिकारी रहँदै आएकामा अब १५१ सदस्यीय कार्यसमिति र नौ सदस्यीय पदाधिकारी रहनेछन् । जसमा अध्यक्ष, महिलासहित दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव, सङ्गठन, प्रचार विदेश र कोष हेर्नेगरी क्षेत्र तोकेरै चारजना सचिव रहने जनाइएको छ ।
महासङ्घले अधिवेशनका अवसरमा औद्योगिक प्रदर्शनी पनि गर्ने भएको छ । मुलुकभित्र रहेका घरेलु, साना मझौलादेखि ठूला उद्योगबाट उत्पादित वस्तुहरुको बजारीकरण गर्न औद्योगिक प्रदर्शनी गर्न लागिएको महासङ्घका संयोजक भागिरथ सापकोटाले जानकारी दिए । लामो समयको आर्थिक मन्दीका कारण अहिले उद्योगी व्यवसायीको मनोबल खस्किँदो अवस्थामा छ, उनले भने, औद्योगिक वातावरण निर्माण गर्दै देशभित्र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो । प्रदर्शनी दुई दिनसम्म चल्नेछ ।
प्रदर्शनीमा पूर्वमेची देखि पश्चिम महाकाली सम्मका उद्योगी–व्यवसायीले उत्पादन गरेका वस्तुहरु रहने मेला उप समितिका संयोजक गोपाल खनालले जानकारी दिनुभयो । मेलामा साना, घरेलुदेखि मझौला र ठूला गरी १०० बढी प्रदर्शनी कक्ष रहनेछन्, उनले भने, जहाँ कर्णालीमा पाइने जिम्बु, यार्सा, सिलाजित देखि पूर्वको छुर्पी, अलँची देखि चिया कफीसम्म उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस्