नेपालको गुन्द्रुक–सिन्कीलाई स्टार होटलहरुमा अनिवार्य गराइनुपर्छ

२२ फागुन, इलामको रोङ गाउँपालिका कृषिका लागि उर्वर क्षेत्र हो । स्थानीय स्तरमा उत्पादन भएको गुन्द्रुक सिन्कीको बजारीकरणका लागि भनेर स्थानीय सरकारले नै यसको ब्राण्डिङ सुरु गरेको हो । गुन्द्रुकका कारण ८० प्रतिशतभन्दा बढी रकम गाउँमा प्रवेश गर्ने, स्थानीय सरकार जनतासँग उत्पादनमा प्रत्यक्ष जोडिने र रोजगारीसमेत सिर्जना हुनेलगायतका बहुआयामिक फाइदा हुने भएकाले गुन्द्रुक र सिन्कीको ब्राण्डिङ गरी बजारमा पुर्याउन थालिएको हो ।
कृषिजन्य उत्पादनले बजार पाइएन भनेर नागरिकहरु सरकारलाई गाली गर्न तछाडमछाड गरिरहेका बेला यस्तो योजना आएको हो । पालिकाको नीतिलाई फेरबलद गरेर जानुपर्ने आवश्यकतालाई मध्यनजर गरेर रोङ गाउँपालिकाले कृषि नीतिको हकमा उत्पादन, प्रशोधन र बजार तीनवटा कुरालाई पिलरको रुपमा राखेर काम गरिरहेको छ । बजारलाई सामूदायिक मोडल कम्पनीहरुबाट अथवा विभिन्न मार्केटिङ नीतिहरुलाई आत्मसाथ गर्दै प्रचारप्रसारमा पनि उत्तिकै सक्रिय भएर लागिरहेको छ ।
त्यस्तै प्रत्येक वडामा एउटा प्रशोसन केन्द्र स्थापना गर्ने भनेर योजना आयोगको विशेष अनुदान लिएर कारखाना पनि निर्माण गर्दैछौं । उत्पादनमा क्वालिटी, क्वान्टिटी र कन्टीन्यूटीको ग्यारेन्टी किसानकै हातमा सुम्पिएका छौं । हामीले सहजीकरण चाहीं गरिरहेका छौं । तर गफाडी र अल्छे किसानबाट त्यो सम्भव छैन् । सरकारले यीनै अल्छे किसानको पछाडि लागेर आज परिणाम केही नआएको र गाली खाएर बसेको अवस्था छ । रोङ गाउँपालिकाले उत्पादनमा किसानलाई जोड्ने काम गरेको छ । किसान भित्रको गुरु भनेर ‘रोङ किसान व्यवस्थापन कार्यविधि २०८०’ जारी गरेर मेहेनती अगुवा, अनुशासित किसानलाई निश्चित मापदण्ड बनाएर ‘गुरु किसान’ घोषणा पनि गरिरहेका छौं ।
गुरु किसानले ज्ञानका रुपमा सहयोग गर्ने, प्रविधिको हस्तान्तरण गर्दै जाने उद्देश्यले उत्पादन प्रशोधन र बजार यी तीनवटा नीतिलाई अपनाएका छौं । पछिल्लो समय अध्ययन गर्दा अहिलेको उपभोक्ता ब्राण्डकै पछि लागेको देखिन्छ ।
जुत्ता, मोबाइल, ज्याकेट किन्दा अर्थात हरेक सामग्रीको खरिद गर्दा ब्राण्ड हेर्ने गर्छौं । त्यसैले हामी सबैको मनोविज्ञान ब्राण्डको पछि लागेको देखिन्छ । त्यसैले किसानले उत्पादन गरेको सामग्री फ्रेस मार्केटमा बिक्छ भने बेच्न सकिहाल्छ ।
मूल्य नपाउँदा सरकारले बनाइदिएको प्रशोधन उद्योगमा प्रशोधन गरेर ब्राण्डिङसहित बजारमा लैजान सक्यो भने बेच्न सकिन्छ । त्यसैले रोङ गाउँपालिकाले किसानको उत्पादनले बजार पाउन्जेल बजारमा र नपाएको खण्डमा प्रशोधित बस्तुको ब्राण्डसहित बजारमा लैजाने लक्ष्य लिएका छौं । यसमा उपोभोक्ताको मनोविज्ञानलाई अध्ययन गरेर वाण्डको काम गरिरहेका छौं ।
त्यसमध्ये रोङ गुन्द्रुक रोङ सिस्नो, रोङ करेला, रोङ मह, रोङ बेसार जस्ता विभिन्न ब्राण्डहरु बनाउने काम गरिरहेका छौं । त्यसका लागि ब्राण्डमा क्वालिटीलाई प्राथमिकतामा राखेका छौं । गुणस्तरीयता र निरन्तरतालाई मेन्टेन गरेर बजारको तयारीमा छौं । थोरै स्केलको उत्पादनलाई लोकल बजारमा नै बेच्दैछौं । स्केल बढिसकेपछि बजारलाई कसरी व्यवस्थित गर्ने भनेर नीति बनाएर अगाडि बढेका छौं ।
चुनौति धेरै छ
रैथाने उत्पादनलाई ब्राण्डिङ गरेर बजार खोज्ने काममा चुनौती धेरै नै छ । वास्तवमा एउटा नीजि कम्पनी पनि स्थापना हुने वित्तिकै पूर्ण नाफामा जाँदैन् । पाँच वर्षसम्म घाटा खाएर त्यसपछि उद्योगलाई नाफामा लाने गरेको छ । हाम्रा नेपालीहरु तुरुन्तै आजको भोलि नै नाफा चाहिने हिसाब गरिहाल्ने, नाफा भएन भने छाडेर जाने गरेका छन् । छाड्नेले कहिल्यै जित्दैन् । जित्नेले कहिले पनि छाड्दैन् । त्यसैले धैर्यताकासाथ यो अभियानमा जोडाउनका लागि एउटा चुनौती छ । मार्केट विशेष चुनौतीपूर्ण छ । वास्तवमा मार्केट निर्दयी र कठोर पनि छ ।
नेपालको उत्पादन विक्री भएन भने नेतालाई गाली गर्ने चलन छ । हामी नेपालीको जीवनशैली कस्तो पनि छ भने भाटभटेनीमा गएर विदेशी ब्राण्डको उत्पादन किनेर उपभोग गर्ने चलन छ । स्वदेशी उत्पादन उपभोग नगर्ने अनि बजार पाएन भनेर सरकारलाई गाली गर्ने वानी छ । त्यसैले चुनौती, बजार, किसान र उत्पादनका कुरामा धेरै मेहेनत गर्नुपर्छ ।
फाइभ स्टार होटलमा नेपाली गुन्द्रुक
अर्को कुरा भनेको आयातलाई प्रतिस्थापन गर्न सरकारको पनि नीति स्पष्ट हुनुपर्छ । सँगै हाम्रो उत्पादनको पनि गुणस्तर चाहिन्छ । यी सबै भएपछि विदेशी उत्पादन जुन आयात हुन्छ यसलाई प्रतिस्थापन गर्न सकिन्छ । केही बस्तुहरुको नीतिमा सरकारले ध्यान दिन जरुरी छ । जस्तै गुन्द्रुक हाम्रो राष्ट्रिय तरकारी हो । राष्ट्रिय तरकारी भएकाले नेपालका स्टार होटलहरु अनिवार्य गरिनुपर्छ । स्टार होटलहरुमा चीनबाट आयात गरिएका गुणस्तरहीन गुन्द्रुक खुवाउने चलनलाई निरुत्साहित गर्नपर्छ । राट्रिय तरकारी भएको नाताले स्वदेशी उत्पादन खपत बढाउनुपर्छ । यही उद्देश्यले सरकारले थ्रि स्टारदेखि फाइभ स्टार होटलहरुमा नेपाली गुन्द्रुक अनिवार्य प्रयोग गर्नुपर्ने नीति लिनु जरुरी छ । जसरी अन्य सामग्रीहरु त्यहाँ ब्राण्ड मात्रै उपभोग गर्नुपर्छ भनिन्छ त्यसैगरी गुन्द्रुकलाई पनि कडाइकासाथ लागू गर्नुपर्छ ।
नेपालकै लागत कष्ट महंगो परेको गुन्द्रुकहरु फाइभ स्टार होटलहरुको डिमाण्ड धान्न सकेको छैन् । तर राष्टिय तरकारी गुन्द्रुक भनिएको छ । नेपालमा नै गुणस्तरहिन गुन्द्रुक खुवाएको छ । पर्यटकहरुले कति पटक गुन्द्रुकमा कपाल भेटाउने गरेका छन् । विदेशी उत्पादलाई आयात प्रतिस्थापन पर्ने कुरामा नागरिक आफै पनि सचेत हुनुपर्छ । आयात पूरै रोक्न त देशले सक्दैन । तर आयात भएपनि उपभोक्ताले किनेर खानेबेला स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गर्नुपर्छ । यसमा सरकारबात्र होइन नागरिक पनि जिम्मेवार हुनुपर्छ ।
रोङ गाउँपालिकाले गुन्द्रुक, सिस्नो, करेला, तितेपाती जे होस् यी सबै हामीले प्राथमिकतामा राखेका खेतीहरु हुन् । पाँच महिनामा त्यसको आम्दानीसहित फिर्ता लिनसक्ने प्रकृतिका खेतीहरुलाई फोकस गरेको छौं । श्रम सृजना गर्ने र बिहान बेलुकीको छाक टार्न सक्ने आत्मनिर्भर बनाउने हाम्रो पहिलो उद्देश्य हो । किसानलाई व्यवसायिक बनाउनुपूर्व आत्मानिर्भर चाँही बनाउनुपर्छ । उनीहरुको आफ्नो आम्दानीले घर व्यवहार चल्नसक्ने हुनुपर्छ । अनि मात्र व्यवसायिकताको पाटोमा चढाउनुपर्छ । गुन्द्रुक, सिस्नो, करेला, तितेपाती सबै खेतीको काम चाँही किसानलाई आत्मनिर्भर, स्वरोजगार बनाउने र आर्थिक रुपमा धान्न सक्ने बनाउने लक्ष्यकासाथ सुरु गरेको हौं ।
पृथक मोडालिटी
हामीले गुन्द्रुक, सिस्नो, करेला, तितेपाती सबै खेतीका लागि आफ्नै मापदण्ड एवम मोडालिटी अपनाएका छौं । पालिकाले खेती गर्ने नभइ किसानलाई नै व्यक्तिगत रुपमा खेती गर्न प्रोत्साहित गर्ने गरेका छौं । किसानले आ–आफ्नो खेतबारीमा उत्पादन गरेको कच्चा बस्तुलाई ब्राण्डिङ गर्न पालिकाले सहजीकरण गर्छ । तर विभिन्न समूह बनाएर काम गरिरहेका छौं । स्केल होस भनेर, परिणाम पुगोस् भनेर समूह बनाउने गरेका हौं । नेपालमा सामूहिकताको संस्कार अलि कम छ । साझा काममा बाझाबाझ भइहाल्छ ।
हामीले तितेपातीमा धेरै काम गर्न पाएका छैनौं । यो अध्ययनकै विषय हो । करेला, सिस्नो साथै गुन्द्रुकको लागि रायो सागको खेतीमा धेरै किसान संलग्न हुनुहुन्छ । रायोको साग विक्री भएन भनेर दुःखेसो गरिरहेका किसानहरुलाई प्रोत्साहित गरेर गुन्द्रुक सिन्की बनाउने काममा अग्रसर गराएका छौं । यसका लागि एउटा कारखाना बल्ल सञ्चालनमा ल्याएका छौं । त्यसको क्षमता भनेकै १५ देखि २० हजार केजीको साग हो । तर किसानहरुले ८–१० लाख केजी रायोको साग उत्पादन गरिरहेका छन् । साग रोपेको तीन महिनामा फलाएर बेच्न सकिन्छ । त्यसपछि जग्गा खाली हुन्छ र अरु वालीनाली लगाउन पाइन्छ । त्यसैले राम्रो भएको छ । रोगको चुनौती कम छ । त्यही जमिनमा खुर्सानी रोप्न पर्यो भने फल्नेबेलासम्म चार पटक गोड्नपर्छ । रोगहरु छ जमिन होल्ड हुन्छ । महंगोमा बिक्छ तर लागत बढि छ । त्यसैले रायोको सागमा किसान सक्रिय भएका छन् । तर पालिकाले सबै खरिद गर्न सकिरहेको छैन् ।
रैथाने उत्पादन प्राथमिकता
स्थानीय सरकारले रैथाने उत्पादनलाई विशेष प्राथमिकता दिएको छ । ठूलो सपना देख्दा असफल हुने संभावना रहेकाले सानोबाट काम सुरु गरेका हौं । रैथाने बालीमा पुर्खाले गरेको अनुभव छ, उत्पादन गर्ने ज्ञान सीप पनि छ ।
उपभोक्तालाई बुझाइ राख्नुपनि पर्दैन् । परम्परादेखि गरिआएको खेतीलाई प्रवद्र्धन गर्दा सफलता पनि चाँडो मिल्छ । सहज पनि हुन्छ । त्यसैले रैथाने उत्पादनलाई हामीले प्रवद्र्धन गरिरहेका हौं । रैथाने उत्पादनको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने पहिलो प्राथमिकता हो । यसको स्थायित्वका लागि सबै नागरिक लाग्नुपर्छ । आफ्नो देशको उत्पादनलाई प्रयोग गरेमा यसको स्थायित्व उपभोक्ताको हातमा धेरै प्रतिशत हुन्छ ।
रैथाने सामग्रीका उपभोक्ता तपाई–हामी सबै हौं । काठमाडौं त झन् उपोभोक्ताको नै सहर हो । यहाँ भएका सबै उपभोक्ताहरु आर्थिक अवस्था राम्रो नै भएजस्तो लाग्छ । दुई रुपैयाँ महँगो पर्दैमा हाम्रो उत्पादन खरिद नगर्ने मनस्थिती बनाउनु हुँदैन् । स्वदेशी नै खानुपर्छ अभियानकै रुपमा काम गर्नुपर्छ । जसका कारण गाउँका किसानले आफ्नो उत्पादन बिकेन भनेर रुदैँ हिड्नुपर्ने अवस्था आउँदैन् । त्यसकारण यसको स्थायित्वको सबैभन्दा मुख्य पाटो भनेको उपभोक्ता हो । उपभोक्ता सचेतनाको कार्यक्रमहरु संघीय, प्रदेश सरकार सबैले सञ्चालन गर्न जरुरी छ ।
सुधारका धेरै काम बाँकी
सरकारले कृषि क्षेत्रमा सुधार गर्नुपर्ने कुराहरु धेरै छन् । हामीले गुन्द्रुक, सिस्नो, करेला, तितेपाती सबैलाई व्यवसायिक रुपमा काम गरिरहँदा सरकारले सुधार गर्नुपर्ने कामहरु पनि देखिरहेका छौं । पैसाबिना वा थोरै पैसामा सुधार गर्ने योजनाहरु बनाउनुपर्छ । साना योजनामा सफलता पाएपछि मात्र ठूला योजनामा लगानी गर्न जरुरी छ । लगानी भयो भने मात्र कृषि हुन्छ भन्ने मानसिकता त्याग्नुपर्छ । सामान्य आधारभूत व्यवस्था नगरी ठूलो लगानी गर्दा डुब्न सकिन्छ ।
त्यसैले हामीले व्यवस्थापकीय कामहरु गर्नुपर्छ । किसानहरु योग्य र क्षमतावान हुनुपर्छ । आफूले गर्दै गरेको खेतीकाबारे जानकार हुनुपर्छ । जलवायु परिवर्तन, उद्यमशिलताको बारेमा जानकार हुनुको साथै वित्तिय साक्षर पनि हुनुपर्छ । यी सबै कुरामा किसान जानकार भयो भने राज्यले गरेको सहायता वा सहुलियतपूर्ण ऋणको परिणाम राम्रो निकाल्न सकिन्छ । कृषिमा पनि सम्भावना र भविष्य छ भनेर नेपालमा नै बस्न युवाहरुलाई प्रोत्साहित गर्न सकिन्छ ।
विशेषगरी किसानको क्षमता विकास गर्ने कुरा महत्वपूर्ण रुपमा अघि बढाउनुपर्छ । क्षमतासँगै उत्पादनको बजारीकरण र बजारीकरणको लागि गर्नैपर्ने काम उपभोक्ता सचेतना हो । थोरै लगानीमा हुने कामलाई वास्ता गरिएको छैन् अनि ठूलो ठूलो योजना बनाएर ठूलो बजेट असफल भएका प्रशस्त उदाहरणहरु हामीले देखिरहेका छौं । संघ, प्रदेशले योजनाहरु बनाउँदा गाँउका अनुभव हासिल गरेका समूदायसँग बसेर बनाउनुपर्छ । सोही अनुसार नीति नीति डिजाइन गर्नसक्नुपर्छ ।
शिक्षा क्षेत्रमा रोल मोडल
नेपालमा विद्यार्थीको संख्या घट्दो क्रममा छ । नेपालको शिक्षा बिग्रिनुमा शिक्षकहरुको हात छ भनेर गाली गर्ने गरिन्छ तर सबै शिक्षक गलत छैनन् । सबैलाई एउटै नजरले हेर्नु हुँदैन् । त्यसकारण गुण र दोषलाई विश्लेषण गरेर दण्ड र प्रोत्साहनको व्यवस्थासहित काम गर्नुपर्छ । रोङ गाँउपालिकामा शिक्षा सुधार क्षेत्रमा नयाँ मोडल अपनाइरहेको छ । अभिभावक, शिक्षक र विद्यार्थी तीन पक्षलाई जिम्मेवार बनाएर काम गरिरहेको छ ।
रोङ गाँउपालिकामा शिक्षाको गुणस्तर सुधार गर्नको लागि अभिभावकलाई जिम्मेवार बनाउने अभियानमा जुटेको छ । बाल स्याहार, पोषण, कर्तव्य, अधिकार, रहनसहन, संस्कार परिवारले कस्तो दिने भन्ने कुरा घरबाट नै हुने भएकाले त्यसलाई प्राथमिकता दिएको छ । विद्यार्थीहरुको ७० प्रतिशत समय अभिभावकसँग बित्ने भएकाले अभिभावकहरुलाई बढी जागरुक गराइरहेका छौं । वालवालिकाको शिक्षा सुधारमा शिक्षकहरु भन्दा बढि जिम्मेवार अभिभावक हुन् । तर उहाँहरु जिम्मेवार हुनुहुन्न । त्यसकारण रोङ गाँउपालिकामा महिनामा एक दिन अभिभावक विद्यालय आउनैपर्ने व्यवस्था गरेको छ । नआए वडाको सिफारिस रोकिन्छ ।
हामीले अभिभावक शिक्षाका लागि सहजीकरण पुस्तिका बनाएका छौ । त्यसमा ४० जना शिक्षकहरु हुनुहुन्छ । महिनाको एकदिन सबैलाई पढाउने व्यवस्था गराएका छौं । देशको पहिलो कार्यक्रम हामीले सुरु गरेका हौं । यसले अभिभावकहरु जिम्मेवार र सचेत हुन्छन् । शिक्षकलाई पनि योग्य र अनुशासित, प्रविधिमैत्री बनाउन सहज गराएको छ । यही परियोजना अन्तरगत विद्यालयमा पाँच करोडको हाराहारीमा इलेक्ट्रोनिक डिभाइसहरु जडान गरेका छौ ।
हामीसँग भएका शिक्षकहरु केहीलाई बाहेक कम्प्युटरको ज्ञान थिएन । समयले प्रविधि ल्याइसक्यो नजान्नु अपराध होइन तर सिक्नुपर्छ भन्ने वानीको विकास गराएका छौं । प्रविधिमैत्री तरिकाले शिक्षकहरु पनि योग्य बनाएका छौ । यसका साथै उनीहरुलाई अनुशासित बनाउनका लागि पनि अनुगमनको पाटो अगाडि बढाएका छौ ।
विद्यार्थीहरुको लागि पनि सरकारी विद्यालयमा उद्यमशिलताको विषय राखेका छौ । स्कुल तहबाट नै उद्यमशिल बनाउने भनेर यस्तो कार्यक्रम सुरु गरेका हौं । यसको लागि अति आवश्यक कुरा भनेको वित्तिय साक्षरता हो । त्यस्तै पैसाको महत्व बुझ्नु पर्छ, बचतको संस्कार हुनुपर्छ भन्ने मानसिकताको विकास गर्न यस्तो नौलो अभियान थालेका हौं । उद्यमी भयो भने सफलता हासिल गर्न सकिन्छ भनेर हामीले विद्यालय स्तरबाट नै सिकाउन थालेका हौं । सबै विद्यार्थीहरुको बैंक खाता खोलिदएका छौ । दिनको एक रुपैयाँ गाँउपालिकाले सबै विद्यार्थीको खातामा जम्मा गरिरहेको छ । उनीहरुले पनि न्यूनतम जम्मा गर्नैपर्ने अनिवार्य व्यवस्था गरेका छौं ।
हाल खोलिएको बैंक खाता लक भएर बसेकाले १२ पास गरेपछि अथवा कलेज जाने बेलामा उसको खाता खुल्ने व्यवस्था मिलाएका छौं । कुनैपनि गरिबका छोराछोरी कलेज जाने पैसा नभएका कारण घरमा बस्न नपरोस भनेर ‘अध्यक्षसँग विद्यार्थी’ भन्ने कार्यक्रममार्फत बचत कार्यक्रमलाई चलाएका छौ । कलेज जाने विद्यार्थीहरुलाई जीवनउपयोगी सीपहरु पढाइसँगै कसरी सिकाउदैँ लाने भनेर अन्य सीप सिकाउने कामहरु पनि भइरहेका छन् ।
चारवर्षभित्रै जीवनउपयोगी सीप कसरी दिन सकिन्छ भनेर देशभर रहेका विद्यार्थीहरुको डाटा संकलन गरेर अहिले यसको पूर्वतयारीमा छौं । अभिभावक, विद्यार्थी र शिक्षकलाई जिम्मेवार, योग्य, अनुशासित बनाएर समुदायलाईसँगै जोडेर लाने हो भने शिक्षको गुणस्तरमा सुधार आउछ । तर शिक्षक एक्लैलाई गाली गरेर केही हुदैँन् । सोही कारण बचत, अभिभावक शिक्षा र शिक्षकलाई नै पढाउने कार्यक्रम नेपालमै पहिलो पटक सुरु गरेका हौं । हामीले सुरु गरेपछि धेरैवटा पालिकाले त्यसलाई लागू गर्नु भएको छ । यही मोडलाई अघि लैजाने हो भने दुई चार वर्षमा सामुदायिक विद्यालयले नै राम्रो भविष्य दिन्छ भन्ने अवस्था आउन सक्ने सम्भावना छ । विद्यार्थीहरुको बचत कार्यक्रमका बारेमा बुझाउन सुरुमा निकै चुनौतिको सामना गर्नुपरेको थियो ।
काम गर्न अझै बाँकी छ
रोङ गाउँपालिकाले सबै क्षेत्रमा उत्तिकै महत्वका साथ काम गरिरहेको छ । लोपन्मुख जातिहरुको उत्थानको लागि गर्नुपर्ने थुप्रै कामहरु छन् । उनीहरुको धर्म संस्कृति, परम्परा, भाषा, संस्कृतिको संरक्षण सम्बद्र्धन र प्रवद्र्धनमा गर्नुपर्ने धेरै काम छन् । उहाँहरुलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्छ । आर्थिकरुपमा सक्षम भएपछि उहाँहरुको लगानी शिक्षा, स्वास्थ्यमा गर्नुहुनेछ । त्यस कारण उहाँहरुलाई व्यवसायी बनाउने, उत्पादनको बजारीकरण गर्ने, रोजगारी सिर्जना गर्ने, अवसरहरु दिने कुरामा हामीले काम गरिरहेका छौं ।
कृषि उत्पादको ब्रान्डिङ, प्याकेजिङको कुरा वास्तवमा सिमान्तकृत, आदिवासी, जनजाति, लोपोन्मुख, गरिब, दलितहरु, गाउँमा रहेका किसानहरुका पक्षमा गर्नुपर्ने छ । उनीहरुको उत्पादनलाई बजारीकरण गरेर समग्र आर्थिक अवस्था मजवुद पार्ने काम पहिलो प्राथमिकता राख्नुपर्नेछ । धर्म संस्कृति, परम्परा, भाषा, संस्कृतिको संरक्षणमा राज्य र उहाँहरु स्वयम्ले गर्न सक्ने बनाउनु नै दिगो समाधान हो जस्तो लाग्छ ।
युवाहरुलाई पनि प्रविधिमैत्री बनाएर गाउँमै बस्नसक्ने अवस्था बनाउन थुप्र्रै कामहरु गरिरहेका पनि छौं । अहिलेको आधुनिक समयमा गुन्दु्रक पुरानो मोडल हो । यसले मार्केट लिदैन भन्ने छैन । यो त जति पुरानो भएपनि पुरानो हुनेवाला छैन । पुर्खाले बनाएको गुन्दु्रक स्वास्थ्यको हिसावले पनि उतिनै फाइदा छ । यो सुपरफुड हो । हामी यसलाई सब्जी मात्र भनेर व्याख्या गर्छौ यो त औषधी हो । गुन्दु्रक खाएपछि पेटको कब्जियतको समस्या समाधान हुन्छ । त्यसैले आधुनिकताको नाममा गुन्दु्रकलाई पुरानो भन्न पर्दैन । त्यसैले यस्ता रैथाने व्यवसायमा युवाहरुलाई आकर्षिक गराउने कुरामा पालिकाले काम गरिरहेको छ ।
दुई भागमा विभाजित भएका युवाहरुमध्ये सहर र गाउँको तुलना गर्न सकिदैन् । सहरी भेगमा भएका युवा पुस्ताहरु उत्पादनमा जोडिन चाहदैनन् । गाउँ त अझै पनि गाउँ नै छ । गाउँले गर्ने काम र बजारले गर्ने काम त फरक छ । बजारले उपभोग गर्ने हो । गाउँमा बस्ने युवाहरुले उत्पादन गर्ने हो । सहरकाले उपभोक्ता लागि सप्लाइ गर्ने हो । त्यसैले हामी गाउँ र सहरलाई उत्पादनसँग जोडेर समृद्ध समाज निर्माणमा क्रियाशील छौं । (इलामको रोङ गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बो(सुवास)सँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस्