प्रतिनिधिसभा शून्य समय । विकासमा विभेद हुने गरेको सांसदहरुको गुनासो

काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नेक्रममा सांसदहरुले शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने गरेको र विकासमा विभेद हुने गरेको गुनासो गरेका छन् ।
सांसद अनिसा नेपालीले राजनीतिक अस्थिरताका कारण विकास योजना प्रभावित बनेको धारणा राखे । विकासमा पनि दलीय विभेद हुनेगरेको उनको भनाइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँदा विकास योजना छनोट र रकम विनियोजनमा विभेद नगर्न उनले आग्रह गरे ।
त्यसैगरी सांसद अम्मरबहादुर थापाले मुलुकको हितमा भन्दा पनि कुनै व्यक्ति वा समूहलाई लाभ मिल्ने गरी बजेटमा योजना पारिने बताए । शिक्षा, स्वास्थ्य, कृषिलगायत उत्पादनका क्षेत्रमा बजेट केन्द्रित गरिनुपर्ने उनको भनाइ छ । वितरणमुखी बजेट रोक्न उनले आग्रह गरे ।
सांसद अम्बरबहादुर रायमाझीले चालु आर्थिक वर्षको बजेटमा परेका अधिकांश योजना अहिलेसम्म पनि कार्यान्वयनमा आउन नसकेको र निर्माणको काम अलपत्र परेको बताए । ठेक्का प्रक्रियामा भएको ढिलाइ र ठेकेदारले आयोजना अलपत्र पार्दा समस्या भएको उनको भनाइ छ ।
अर्का सांसद अर्जुन नरसिंह केसीले नेपाल स्टक एक्सचेञ्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा बिचौलिया हावी भएको आरोप लगाए । उनले निजी क्षेत्रलाई नयाँ स्टकको लाईसेन्स दिनुअघि नेप्सेको पुनःसंरचना आवश्यक पर्ने बताए ।
सांसद अशोककुमार चौधरीले थारुहरुको हकका लागि भएका व्यवस्थाको कार्यान्वयन हुन नसकेको बताए । थारु समुदायको पहिचान र अधिकारको सुनिश्चितताका लागि उनले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराए ।
सांसद आश्माकुमारी चौधरीले दाङमा निर्माणाधीन सडक पुलमा भएको ढिलासुस्तीको विषयबारे संसद्मा कुरा उठाए।
अर्का सांसद असिम शाहले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले कार्यसम्पादनमा शून्य अङ्क दिएर अपमान गरेको बताए । राम्रो गर्नेलाई सरकारले नियतवश र पूर्वाग्रही भएर दुःख दिइरहेको उनको आरोप छ ।
सांसद आशा विकले बाँकेमा औद्योगिक क्षेत्र घोषणा भएका स्थानकोे जग्गा विवाद चाँडो टुङ्गाउनुपर्ने बताए ।
सांसद ईश्वरबहादुर रिजालले पछिल्ला दिनमा संसद्मा अशिष्ट, संसदीय र अमर्यादित शब्द प्रयोग गर्ने क्रम बढेको बताए ।
सांसद ईश्वरी घर्तीले अध्यादेश पारित गर्दा सत्तापक्षसँगका सांसद माथि सांसद किनबेचको आरोप लागेको उल्लेख गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिने । अध्यादेश पारित गर्नका लागि सांसद किनबेच भएको र आर्थिक चलखेल भयो भनेर संसद्मै विषय उठेको बताउनुहुँदै उहाँले यस्तो आरोपमा सत्यता नरहेको स्पष्ट पारे।
सांसद ईश्वरीदेवी न्यौपानेले योगमाया न्यौपानेलाई राष्ट्रिय विभूति घोषणा गर्न माग राखे ।
अर्का सांसद उर्मिला माझीले मेलम्ची खानेपानी आयोजनाका पाइप पटक–पटक फुटेर त्यसले पारिरहेको असर बारे संसद्मा कुरा उठाए । कसको कमजोरीका कारण पटक–पटक पाइप फुटेको हो भनेर छानबिन गरिनुपर्ने उनको भनाइ छ ।
अर्का सांसद डा चन्दा कार्की भण्डारीले मेलम्ची खानेपानीको मुहान असुरक्षित र वितरण प्रणाली अस्तव्यस्त रहेको बताए । पाइपको गुणस्तर कमजोर रहेको हुनसक्ने बताउँदै गुणस्तर परीक्षणका लागि प्रयोगशाला स्थापना गरिनुपर्ने धारणा उनले राखे।
सांसद एकनाथ ढकालले संसद्को प्रभावकारितामा जोड दिए । निर्माणाधीन नयाँ संसद् भवनमा सबै सांसदलाई कार्यकक्षको व्यवस्था गरिनुपर्ने माग उनले राखे ।
सांसद कान्तिका सेजुवालले नेपालमा प्रयोग भइरहेको नुनमा आयोडिनको मात्रा बढी भएको विषय संसद्मा उठाए । सरकारी प्रयोगशालामा परीक्षण गर्दा अत्यधिक मात्रामा आयोडिन रहेको पुष्टि भएको र यसले स्वास्थ्य समस्या निम्ताउन सक्ने उनको भनाइ छ ।
सांसद कालुराम राईले संसदको काम कानून बनाउने र स्थानीय तहले विकास निर्माणका काममा केन्द्रित हुनुपर्ने धारणा राखे।
सांसद किरणकुमार साहले सरकारी स्वामित्वको गौरस्थित राइस मिलको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रपञ्च भइरहेको बताए ।
सांसद गणेश पराजुलीले चक्रपथको दोस्रो खण्डको निर्माणमा ढिलाइ भएको विषय उठाए । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र कारबाही प्रक्रिया कहाँ पुगेको छ भनेर समेत उनले सरकारसँग प्रश्न गरे।
सांसद गोकुलप्रसाद बाँस्कोटाले बाढी पहिरोको जोखिम भएका बस्ती सार्नका लागि सुरक्षित स्थानमा जमिनको व्यवस्था मिलाइनुपर्ने बताए । काभ्रेका विभिन्न स्थान बाढीको जोखिममा रहेकाले त्यहाँका बासिन्दालाई अन्यन्त्र सार्न अति आवश्यक रहेको उनको भनाइ छ ।
सांसद गंगा कार्कीले दोलखा–लामबगर–लप्ची नाका खोल्नका लागि काम अघि बढिसकेको बताउदै यसमा शीघ्रता दिइनुपर्ने बताए । त्यस्तै, बाढीले क्षति पु¥याएका सडक निर्माणको पुनःर्निमाणलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ ।
सांसद गंगाप्रसाद यादवले सिरहामा भूमिगत पानीका स्रोत सुक्दै गएको र पानीको अभाव सृजना भएको बताए ।
सांसद चन्द्रकान्त भण्डारीले सरकारमा रहेका व्यक्तिलाई प्रश्न गरेकै आधारमा पत्रकारको पास रद्द भएको विषय संसदमा उठाए ।
सांसद चन्द्रबहादुर विश्वकर्माले भारतका विभिन्न स्थानमा राम्रो जागिर लगाइदिने भन्दै नेपाली युवाबाट पैसा असुली गर्ने गिरोह सक्रिय रहेको बताए। अवैध नेटवर्किङ धन्दामार्फत् नेपाली युवालाई फसाउन काम भइरहेको उनको भनाइ छ ।
सांसद छिरिङ डम्डुल लामा भोटेले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने र बिचौलिया तथा दलाललाई प्रश्रय दिने शैलीमा सरकारले काम गरिरहेको आरोप लगाए ।
सांसद छिरिङ ल्हामु लामा तामाङले सरकारले लोकतन्त्रको धज्जी उडाएर मनोमानी रूपमा काम गरिरहेको आरोप लगाए । अहिलेका शासकबाटै लोकतन्त्र सङ्कटमा परेको उनको भनाइ छ ।
सांसद जावेदा खातुन जागाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य एअरलाईन्सको जहाज दुर्घटनाका मृतकका परिवारले हालसम्म पनि क्षतिपूर्ति नपाएको विषय संसद्मा उठाए ।
प्रतिक्रिया दिनुहोस्