२५ फाल्गुन २०८१, आईतवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

राज्यव्यवस्था समितिका सभापति र सदस्यद्वारा प्रहरी प्रधान कार्यालयको  निरीक्षण

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समिति सदस्यहरूले आज नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण गरेका छन् ।
उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले स्वागत गरे ।
भ्रमणका क्रममा सभापति खतिवडा नेतृत्वको टोलीले नेपाल कार्यालयस्थित सङ्ग्रहालय र डाटा सेन्टरको निरीक्षण गर्नाका साथै सोसम्बन्धी गतिविधिबारे जानकारीसमेत लिएको थियो ।
त्यस अवसरमा आयोजित कार्यक्रममा सभापति खतिवडाले शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिका सराहनीय रहेको बताए । उनले आगामी दिनमा पनि प्रहरीको सेवा प्रवाहको स्तरलाई गुणस्तरीय बनाउँदै लैजान समितिले गर्नुपर्ने सहयोगको लागि सदैव तयार रहेको बताए ।
सभापति खतिवडाले प्रहरी विधेयक संशोधनका लागि सबै सरोकार भएका पक्षसँग समन्वय गरी यसलाई अझ जनतामैत्री एवं प्रहरीमैत्री बनाउन बृहत् छलफल गरेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनका लागि समितिबाट सदैव सकारात्मक सहयोग र समन्वय हुने उनको प्रतिबद्धता थियो ।
प्रहरी महानिरीक्षक कुँवरले नेपालको संविधान, प्रहरी ऐन, नियम, अन्य प्रचलित कानुन र मानव अधिकारको अन्तरराष्ट्रिय मापदण्डले समेत निर्दिष्ट गरेको आफ्नो काम कारबाही र उत्तरदायित्वप्रति निष्ठावान् रही सङ्गठनले कार्यसम्पादन गर्दै आएको बताए ।
आगामी दिनमा उत्पन्न हुनसक्ने चुनौतीहरूको सामना गर्न र नागरिकलाई शान्तिसुरक्षा तथा अमनचयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम र प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले नेपाल प्रहरीको परिचय, सङ्गठनको संरचना, मानवस्रोत तथा स्रोतसाधन व्यवस्थापन, अपराध अनुसन्धानबारे  प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, राज्यव्यवस्था तथा सुशासन समितिका पदाधिकारीहरू एवं वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्