२५ फाल्गुन २०८१, आईतवार
अन्तराष्ट्रिय बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

टङ्को सफलता : नेपाली हुँदै ब्रिटिस फिल्मसम्म

काठमाडौँ । नेपाली फिल्म ‘सरौतो’मा अभिनय गरेका अभिनेता टङ्क धमाला ब्रिटिस फिल्ममा अभिनय गरेका छन् ।

उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ । ब्रिटिस फिल्म ‘डेन्जरस गेम’ र भारतीय फिल्म ’एनिमल’ मा अभिनय गरेका अभिनेता धमालाले आफ्नो निरन्तरता र मेहनतको प्रतिफलका कारण नेपाली फिल्म हुँदै ब्रिटिस फिल्मसम्म पुग्न सकेको बताए ।

विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्नसक्छ भन्ने देखाइएको फिल्म ‘कामा’ उनले हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा स्क्रीन सेयर गरेका छन् ।

उनले फिल्ममा आर्मीको भूमिका निर्वाह गरेका छन् । जो युद्धबाट फर्किएर घर आइपुग्दा आफ्नी श्रीमतीको मृत्युको खबर थाहा पाउँछन् । त्यसपछि आउने घटनाक्रमले थ्रिलर फिल्मका दर्शकलाई भरपुर मनोरञ्जन दिने अभिनेता धमालाले बताए ।

‘यो फिल्ममा मैले आर्मीको भूमिकाका लागि शारीरिक रुपमा फिट गर्नेदेखि प्राविधिक पक्षलाई पनि ध्यान दिएर तयारी गरें । आर्मीले सोच्ने तरिका, शारीरिक हाउभाउ, उसको मानसिकतालाई ग्रहण गर्नका लागि मैले प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको थिएँ’, उनले भने ।

उनले ब्रिटिस एक्टिङ कोच साइमन गिब्बनसँग अभिनय प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेका थिए । पात्रलाई तयार गर्न गरेको मेहनतले उनको अभिनयलाई चर्चामा ल्याएको हो । समीक्षकले राम्रो समीक्षा दिनुका साथै इटलीमा सम्पन्न ‘मिलान इन्टरनेशनल फिल्म फेस्टिभल’ मा भएको ‘कामा’ को प्रदर्शनीमा टङ्कले सर्वाेत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भए ।

‘फिल्म सम्बन्धी अध्यन गरेका कारण पनि कलाकारितालाई म निरन्तरता दिईरहेको छु । नेपाली फिल्मसँगै भारतीय र ब्रिटिस फिल्ममा काम गर्ने क्रममा मैले उनीहरुको कार्यशैलीलाई नजिकबाट बुझ्ने मौका पाएँ । यो अनुभवले मलाई आगामी दिनमा अभिनय यात्रामा मदत गर्नेछ भन्ने लागेको छ’, अभिनेता धमालाले भने ।
उनले ‘म्याड्रिड इन्टरनेशनल फिल्म फेस्टिभल २०२४’ मा सर्वाेत्कृष्ट अभिनेतासहित अन्य अवार्ड जितेको फिल्म ‘कामा’ ले बेलायत र आयरल्याण्डका हलमा समेत राम्रो प्रतिक्रिया पाइरहेको छ । पेसाले चार्टर एकाउन्टेन्ट भएता पनि उनले फिल्म सम्बन्धी अध्यन गरेर मोडलिङ सुरू गरेका थिए । सन् २०१८ देखि मोडलिङमा सक्रिय अभिनेता धमालाले ब्रिटिस एयरवेज, स्वीस एयर, कोकाकोला लगायतका विज्ञापनमा काम गरिसकेका छन् ।

उनलाई ‘सरौतो’ पछि केही नेपाली फिल्ममा समेत अभिनय गर्ने प्रस्ताव गएको थियो । यद्यपि ‘कामा’ को तयारी र आफ्नै दैनिकीले गर्दा उनले समय दिन सकेनन् । यद्यपि अब उनी नेपाली फिल्मको लागि पनि तयार भएको बताउँछन् ।

‘ब्रिटिस फिल्ममा अनुबन्धित भएकै कारण मैंले केही राम्रा अफर पनि स्वीकार गर्न सकिन, किनकि म सम्झौताले बाधिएको थिए । तर, अब नेपाली फिल्ममा सुहाउँदो भूमिका पाएमा म आफूलाई प्रस्तुत गर्न तयार भएको छु । सङ्ख्यात्मक भन्दा पनि गुणात्मक फिल्ममा देखिने मेरो चाहना छ’, उनले भने ।

ब्रिटिस मोडल एवं एक्टर एजेन्सी लङफोर्ड एसोसियटसँग आवद्ध भएर काम गरिरहेका अभिनेता धमालाले केही नयाँ प्रोजेक्टको तयारी गरिरहेका छन् । उनी नेपालीसहित भारतीय र ब्रिटिस फिल्ममा देखिने तयारीमा छन् ।

यद्यपि आपसी सम्झौताले गर्दा आफूले उक्त विषयमा चर्चा गर्न नमिल्ने उनको भनाइ छ । उनले ओटीटीका लागि समेत कन्टेन निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्