पाल्पाका महिलालाई स्वास्थ्य परामर्श र कानुन सिकाउँदै स्थानीय सरकार

तानसेन पाल्पा, २५ फागुन । जिल्लाका दुई स्थानीय सरकारले महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा र सीप सिकाउँदै आएका छन् ।
यहाँका रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाले महिलालाई स्वास्थ्य र कानुनी रुपमा ज्ञान प्रदान गर्नुका साथै आयआर्जनसँग जोड्न सीप सिकाउन थालेका हुन् ।
रामपुरले श्रमिक महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा प्रदान गरेको छ । महिला दिवसका अवसरमा निर्माण क्षेत्रमा कार्यरत तथा अन्य पेसा र व्यवसायमा सक्रिय श्रमिक महिलालाई परामर्श तथा कानुनी शिक्षा प्रदान गरेको हो । नगरपालिकाले अगामी दिनमा पनि परामर्श र शिक्षा दिँदै जाने बताएको छ ।
नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले अधिकांश महिलामा स्वास्थ्य सचेतना र कानुनी ज्ञान नहुँदा शारीरिक तथा मानसिक रुपमा समस्या भोग्नुपरेकाले उनीहरुलाई स्वास्थ्य परामर्शसँगै कानुनी शिक्षा प्रदान गरिएको बताए।
उनले व्यवस्था परिवर्तन भए पनि अवस्था कस्तो छ भन्ने विषयमा महिला अनविज्ञ रहेको भन्दै उनीहरुलाई जानकारी गराउनु अहिलेको आवश्यकता रहेको औँल्याए । उपप्रमुख थापाले महिला श्रमिकका समस्याका विषयमा नगर सरकार गम्भीर रहेको बताए ।
यस्तै रैनादेवीले ५० महिलालाई आयआर्जनमा जोड्ने गरी सीप सिकाउने भएको छ । गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले विपन्न र असहाय महिलालाई निःशुल्क सिलाइकटाइको सीप सिकाइ आयआर्जनमा जोड्ने बताए । उनले पालिकाभित्रका महिलालाई सिलाइकटाइ तालिम दिन थालिएको उल्लेख गरे।
उनले भने, “पहिलो चरणमा ५० महिलालाई सिलाइकटाइसम्बन्धी तालिम दिन्छौँ, पछि आवश्यकताअनुसार दिँदै जानेछौँ ।” अध्यक्ष भट्टराईले महिलालाई उनीहरुको क्षमता, सीपअनुसारको काममा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे ।
उनले पालिकाभित्रका महिलाले केही न केही सीप सिकेर आयआर्जन गर्नसके सीपले जीवनस्तरमा सुधार ल्याउने र सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्