मध्यमा परिक्रमाः गुञ्जदै होरी गीत, रङ्गिदै माटो

महोत्तरी, २६ फागुन । मध्यमा परिक्रमाका यात्री जहाँ पुग्छन्, त्यहाँ होलीमय परिवेश बन्छ । नाच्दै, झुम्दै अघि बढेका यात्री होरीगीत र सीताराम नाम सङ्कीर्तनमा मस्त देखिन्छन् ।
यात्राको आठौँ दिन महोत्तरीको कञ्चनवनमा ‘होरी’ खुलेपछि यात्रा झन् उत्सवमय बनेको छ ।
‘मिथिलामें राम खेलैय होरी हो, मिथिलामें’ यी बोलका गीतसँगै झुमेका यात्री एकआपसमा रङ्गअबिर छ्यापाछ्याप गर्न पछि पर्दैनन् । ‘किनकाके हात कनक पिचकारी, किनकाके हात अबिर झोरी ’ कसको हातमा सुनौलो रङ् छेप्ने पिचकारी छ ? अनि कसको हातमा अबिरको झोला ? यात्रीमध्येकै एक समूहबाट गीतमै प्रश्न तेर्सिन्छ । अनि अर्को समूहले गीतबाटै जवाफ फर्काउँछ, ‘रामजीके हात कनक पिचकारी, सीयाजीक हात अबिर झोरी’ रामजीका हातमा सुनौला पिचकारी छ अनि सीताजीका हातमा अबिरको झोला हो.., मिथिलामें राम खेलैय होरी हो मिथिलामें ।
फागु गीत आफैँ शृङ्गार रसका हुन्छन्, अनि त्यसमा गवैया गाउनेको मनमस्तपन मिसिँदा अहिले मिथिला माध्यमिकी परिक्रमाको यात्रा होलीमय बनेको छ । सब नाच्दा छन्, यात्रीले एकआपसमा छ्याछ्याप गरेका रङ्गअबिरले मान्छेमात्र हैन, माटो रङ्गिएको छ । स्वरमा स्वर मिसिएका छन्, लयमा लय, ‘होरी खेले रघुवीरा सीयासँग, होरी खेले रघुवीरा’
यात्राका सात दिनसम्म भक्तिमा डुब्ने यात्री महोत्तरीको कञ्चनवनमा होलीमहोत्सवमा सरिक भएपछि रङ्गिन बन्छन् ।
यात्रा अवधिका सबै विधि र व्रत अवलम्बन गरिरहेपनि कञ्चनवनले थपेको होलीमय परिवेशले बाँकी यात्रा नाचगान र रङ्गअबिर खेलिँदै रमाइलोमा बित्ने यात्रीमध्येका महोत्तरीसँगै जोडिएको भारतीय सीमावर्ती गाउँ डिमाहीका हनुमान शरण दास बताउछन् ।
फागुन औँसीका दिन सुरु भएर लगातार १५ दिनको यात्राको अठोट । टाउकोमा सामल–खाजा र एकसरो फेरफार लुगाको मोटरी पोको, वाणीमा जय सीयारामको लय । नाङ्गा खुट्टा, परिचित/अपरिचित हजारौँ सहयात्री ।
कल्याण र मोक्षको कामना, १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अध्यात्मिक यात्रा । यात्रु भन्छन, “माथ में मोटरी, मन में सीयाराम ” टाउकोमा सामल खाजाको पोका, मनमा सीतारामप्रति श्रद्धा, भक्ति र समर्पणको भाव । आठौँ दिनपछि होलीको रमाइलो । गुञ्जदै होरीगीत, रङ्गिदै माटो ।
यात्रामा महोत्तरीको कञ्चनवनमा विहारकै क्रममा श्रीराम र सीताजीले रङ्ग, अबिर खेलेका विश्वासमा यात्री एकआपसमा रङ्ग, अबिर खेलेर फागु पर्व मनाउने गर्छन् ।
वसन्तपञ्चमीका दिनदेखि फागु पर्वको सुरुवात मानिएपनि मैथिल परम्परामा कञ्चनवनमा रङ्ग, अबिर खेलेपछि नै फागु विधिवत सुरु हुन्छ ।
प्रतिक्रिया दिनुहोस्