घुम्ती सेवाबाट आठ सयजना लाभान्वित

तम्घास गुल्मी, २६ फागुन । गुल्मीको धुर्कोट गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवाबाट आठ सय ७६ जना लाभान्वित भएका छन् ।
धुर्कोट–३ हाडहाडेमा सञ्चालन गरिएको उक्त सेवाअन्तर्गत चार सय गाईभैँसी र एक हजार तीन सय ५० बाख्राका लागि औँषधि समेत वितरण गरिएको छ ।
दुई सय पाँच किसानलाई पशुसम्बन्धी परामर्श तथा दुई सय ४७ जनालाई बीउ र मल वितरण गरिएको वडाध्यक्ष पदम विष्टले जानकारी दिए ।
एक सय ७८ जनाको स्वास्थ्य जाँच गरिनुका साथै औँषधि समेत वितरण गरिएको उनले बताए । यस्तै १६ गर्भवतीको निःशुल्क भिडियो एक्सरे तथा ८० जनाको आयुर्वेद पद्दतीद्वारा उपचार गरिएको छ ।
शिविरमा २० जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्नुका साथै एक सय ३० जनाको आँखा परीक्षण गरिएको वडाध्यक्ष विष्टले बताए । पालिकाका सम्बन्धित शाखाका कर्मचारी तथा प्राविधिकले सेवा प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्