२७ फाल्गुन २०८१, मंगलवार
बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् ।

बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका हुन् ।

उनले भने,‘यस्तो डिटेल दिनुभा’छ नि, कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो ।’ सिनेमा हेरेपछि बालेनले धुर्मुसको तारिफ गरे ।

बालेनले धुर्मुसको प्रशंसा गर्दै अँगाल्दै भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।’
बालेन मिडियालाई खबर नगरी चलचित्र हेर्न पुगेका थिए ।

चलचित्र ‘लाज शरणम्’मा समावेश ‘नेपाल हाँसेको’ ¥यापमा बालेनको स्वर छ, जसले दर्शकमाझ निकै चर्चा पाएको थियो । चलचित्रमा भने यो गीत छैन । क्रेडिटलाइन स्क्रोल हुनथाले पछि यो गीत बज्छ ।

सिनेमाले हालसम्म कति कलेक्सन गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन । पहिलो दिनको कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको थियो । पहिलो दिन यो चलचित्रले एक करोड १० लाख कलेक्सन गरेको थियो ।

कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ मा धुर्मुस मुख्य भूमिकामा छन् । चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

जेपीटी क्रिएसनको व्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्