लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुँदैन : सांसद विष्ट

काठमाडौँ, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टीका सांसद गोकर्ण विष्टले लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुन नसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले राजा फर्र्काउने प्रयत्नको कुनै औचित्य नरहेको बताए।
सांसद विष्टले भने, “समाप्त भएको राजतन्त्रलाई फर्काउने कोसिस भइरहेको छ । लोकतन्त्र चाहने शक्तिका लागि यो कदापि स्वीकार्य हुन सक्दैन ।” अराजकता र अस्थिरता निम्त्याउने गतिविधि भइरहेको उल्लेख गर्दै उहाँले राजतन्त्र मूलधारको राजनीति हुन नसक्ने टिप्पणी गरे ।
जनताको लामो आन्दोलनपछि लोकतान्त्रिक अभ्यास प्राप्त गरेको भन्दै सांसद विष्टले संवैधानिक मर्यादाभित्र रहेर सही ढङ्गले प्रयोग गर्न सकिएन भने देश अघि बढ्न नसक्ने बताए । लोकतन्त्र प्राप्तिका लागि सहकार्य तथा योगदान गर्ने शक्तिले सहिदको बलिदानीबाट प्राप्त उपलब्धिलाई जोगाउन गम्भीरताका साथ समीक्षा र हातेमालो गर्न जरुरी रहेको उनको भनाइ छ ।
सांसद विष्टले युवामा आश जगाउने गरी तीव्र ढङ्गले विकास हुन नसकेको उल्लेख गरे । तर देशमा केही नै भएको छैन भनेर भाष्य पैदा गरेर अराजकता सिर्जना गर्ने र मुलुकलाई प्रतिगमनतिर लैजाने प्रयत्न भइरहेको उनको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस्