सुहाङले संसद्मा बुवाको जन्मदिन सम्झिए, उठाए इलामको छुर्पीको कुरा

२८ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई संसद्मा सम्झिएका छन् ।
बुवासमेत रहेका सुवास नेम्वाङको आज जन्मदिन भएको जानकारी गराउँदै उनले श्रद्धासुमन व्यक्त गरे ।
आज हामी सबैको नेता, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको जन्मदिन । म उनलाई सम्झिएर श्रद्धासुमन व्यक्त गर्न चाहन्छु,’ नेम्वाङले बुधबारको प्रतिनिधिसभा बैठकमा भने ।
विसं २०८० भदौ २६ गते सुवासको हृदयघातबाट निधन भएपछि रिक्त इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनबाट सुहाङ निर्वाचित भएका थिए ।
उनी अहिले एमालेबाट प्रतिनिधिसभामामा प्रतिनिधित्व गर्छन् ।
सुहाङले बुवा सुवासलाई श्रद्धासुमन व्यक्त गर्दै इलामको कृषि बजारमा सम्भावना बोकेको छुर्पी व्यवसायको संकटबारे संसद्लाई जानकारी गराए ।
छुर्पीको बजारले देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको जानकारी गराउँदै उनले वर्षेनी चार अर्ब माथि निर्यात हुने गरेको तथ्यांक भएको बताए ।
‘तर, सम्भावना बोकेको वस्तु खासगरी अन्तर्राष्ट्रिय बजारमा भ्याटको अन्यौलताका कारण प्रतिस्पर्धामा समस्या हुने देखिएको छ,’ नेम्वाङले भने, ‘यसबाट छुर्पी किसान, उद्योगी, निर्यातकर्ता र राजस्व कार्यालयबीच अन्यौलता सिर्जना भएको छ ।’
उनले नेपालबाट निर्यात हुने एकमात्रै दुधजन्य पदार्थको उत्पादनमा निराशा देखिएको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराए ।
‘नेपालबाट निर्यात हुने एकमात्रै दुधजन्य पदार्थको उत्पादनमा निराशापन देखिएकोले व्यवसायीमा संकट पैदा भइरहेको छ । म यो समस्याको उचित समाधान र सम्बोधनका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्