२८ फाल्गुन २०८१, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

उप्छुम्नी रानीको पूजामा रमाउँदै हायु समुदाय

रामेछाप । रामेछाप र सिन्धुलीमा मात्र बस्ने लोपोन्मुख हायु समुदाय अहिले आफ्नो प्रमुख चाड उप्छुम्नी रानीको पूजामा रमाउँदै छन् ।

सो समुदायको इष्ट देवताको रूपमा रहेकी उप्छुम्नी रानीको पूजा गत फागुन २२ गतेबाट सुरु भएको हो । १० दिनसम्म चल्ने पूजा चैत १ गते सकिँदै छ ।

महाकाली देवी पनि भनेर पुजिने उप्छुम्नी रानीको पूजा हायु समुदायले महान् पर्वको रूपमा लिने गर्छन् । हायु समुदायले उप्छुम्नी रानीलाई सबैभन्दा ठुलो र शक्तिशाली देवीको रूपमा मान्ने गर्दछन् ।

रामेछापको रामेछाप नगरपालिका वडा–७ मुडाजोरको पालीगाउँमा रहेको सो मन्दिरमा फागुन २२ गतेदेखि मानिसहरू जम्मा भएर विधि अनुसार उप्छुम्नी रानीको पूजा सुरु गरेका छन् । विशाल काभ्राको फेदमा रहेको सो देवी मन्दिरमा हरेक वर्ष यही समयमा उप्छुम्नी रानीको पूजा हुने गर्दछ ।

सोही पूजा अन्तर्गत फागुन २७ गते मंगलबार विशेष पूजा भएको स्थानीय प्रशान्त हायुले बताए । मंगलबार सूर्योदयसँगै सुरु भएको उप्छुम्नी रानीको पूजा चैत १ गते शुक्रबार समापन हुने छ ।

देवीथानमा बाजागाजा सहित मानिसहरू जम्मा हुने गर्दछन् । पुजारीले विधिपूर्वक देवीको पूजा गर्दछन् । पूजामा रामेछाप र सिन्धुलीका हायु समुदायका मानिसहरू भेला भएका छन् ।

आफ्नै भाषा संस्कार र संस्कृति भएको हायु समुदाय नेपालको अल्पसङ्ख्यक समुदाय हो । त्यसैले यसको संरक्षणको लागि सरकारले यस समुदायका सबै नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

भाषा, संस्कृति र संस्कारको रक्षाका लागि भने राज्यको तर्फबाट खासै काम हुन नसक्दा उनीको संस्कार, संस्कृति र भाषा भने लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्तामा हायु भाषा बोल्ने हायुहरू नभएका स्थानीय रवीन्द्र हायु बताउँछन् । केही पुराना बुढापाका बाहेक हायु भाषा बोल्ने मानिसहरू छैनन् ।

यो समुदायको जन्मदेखि मृत्युसम्म आफ्नै संस्कार र संस्कृति छ । यसलाई जोगाइराख्न सरकारले संरक्षणको लागि विशेष ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्