२८ फाल्गुन २०८१, बुधबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

वुमन्स डे कपमा नामिबियासँग नेपालको दोस्रो हार

२८ फागुन, काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

एन्टेबे क्रिकेट मैदानमा भएको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर खेल्दा ५ विकेट गुमाएर १०२ रन मात्र बनायो ।

नेपालका लागि सना प्रवीनले ३७ बल खेल्दै सर्वाधिक ३१ रन बनाइन् । कविता जोशी १९ बलमा १७ तथा पुजा महतो १४ बलमा १५ र इन्दु बर्माले १५ बलमा १५ रन बनाए ।

नामिबियाका लागि इभलिन केजरुकुवाले ३ ओभरमा ११ रन दिएर २ विकेट लिइन् । विल्का माटिले, साइमा तुहादेलेनी र मेकेलाए माटिलेले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो । यो प्रतियोगितामा बनेको अहिलेसम्मको सर्वाधिक योगफल हो ।

नामिबियाका लागि यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् । विल्का मातिलेले २० तथा अरास्ता डिगार्टले अविजित १६ रन बनाइन् ।

नेपालका लागि ईश्वरी विष्टले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले ४ ओभरमा ९ रन दिएर २ विकेट लिइन् । रिया शर्मा र कप्तान इन्दु बर्माले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा नामिबियासँगै पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डलाई हराउँदा तेस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्