सरकार गर्नुपर्ने काम गर्दैन्, पूर्वविशिष्टहरुको सुविधाप्रति चिन्तित छ : प्रकाश ज्वाला

३ चैत्र, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले अहिलेको सरकारले गर्नुपर्ने काम नगरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ नभएको आरोप लगाएका हुन् ।
उनले भने, ‘सरकारले यतिबेला गर्नुपर्ने काम गरिहरेको छैन । सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ छैन । यतिबेला भूकम्प प्रभावित क्षेत्रका जनताहरुले राहत पाएका छैनन् । बाढी पीडितहरुले राहत पाएका छैनन् । पुनः निर्माणका कामहरु भइरहेका छैनन् । भ्रष्टाचार व्याप्त छ, आर्थिक अवस्था जर्जर छ । निर्माण व्यवसायीले काम गरेको भुक्तानी पाएका छैनन् । अर्थतन्त्र अत्यन्त संकटपूर्ण अवस्थामा छ सरकार टुलुटुलु हेरेर बसेको छ ।
साथै उनले राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको भन्दै यसबाट सरकार पछि फर्कन सुझाएका छन् । पूर्वविशिष्टहरुलाई दिइएको मनोमानी सुविधापनि रोकिनुपर्नेउनको सुझाव छ ।
उनले सांसदहरुकै सुविधा घटाउन तयार हुनुपर्ने प्रस्ताव राखे । उनले अहिलेका विशिष्ट पदाधिकारीहरुको समेत सुविधा घटाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्