५ चैत, काठमाडौं । यही चैत्र ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै तयारी पुरा भएको जनाएको छ ।
यसपटक निफको निर्णायक मण्डलमा छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरीमा निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त, निर्देशक सम्पादक रक्षा सिंह राणा चलचित्र समिक्षक सम्पादक रिता दत्ता, निर्देशक लिउ जियान र कलाकार जमल शाहलगाएत रहेका छन् ।
महोत्सवमा कुनै एउटा देशको चलचित्रलाई बिशेष प्रदर्शन गर्ने योजना अनुसार यस वर्ष महोत्सवको तेस्रो दिन शनिबार ‘रसियन फिल्म डे’ को पनि आयोजना गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
महोत्सव अन्तरगत नै आगामी शनिवार आयोजना हुने उक्त फिल्म डे मा रसियाको तीनवटा चलचित्र प्रदर्शन गरिनेछ । यसपटक महोत्सवमा तीन वटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको छ । अडियन्स च्वाइस अवार्डको लागि चैत्र ७ गते देखि ११ गते दिनको ४ बजेसम्म खल्ती एपबाट भोटिङ गर्न सकिने ब्यवस्था गरिएको छ ।
मार्च २०, २०२५, दिउँसो १ः ३० बजे क्युएफएक्स सिभिल मलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालकको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सुरू हुनेछ । समारोहको पहिलो दिन मिनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ प्रदर्शन हुनेछ ।
महोत्सवको अन्तिम दिन अर्थात चैत्र ११ गते ४ बजे संचार तथा सुचना प्रबिधीमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख अतिथ्यमा अवार्ड बितरण गर्दै महोत्सबको समापन गरिनेछ ।
‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएका अध्यक्ष केपी पाठकले जानकारी दिए ।
महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् । प्रविधिमा आएको विकासलाई आत्मासात् गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएको वा सो सम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि हुनेछ ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने जनाइएको छ ।
एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउनेक्रम सुरु भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्