रासस

ललितपुर, ७ चैत: ललितपुर महानगरपालिका–४ जावलाखेल चोकस्थित ललितमण्डप उचित व्यवस्थापनसँगै सर्वसाधारणका निम्ति आकर्षणको केन्द्रका रुपमा परिणत हुँदै गएको छ ।
केही वर्षअघि अस्तव्यस्त मण्डप परिसर ललितपुर महानगरले व्यवस्थित बनाएपछि नागरिकका लागि प्रतीक्षास्थलका रुपमा पनि विकसित भएको छ ।
महानगरले ललितमण्डप परिसरलाई पार्कका रूपमा व्यवस्थित गरेपछि थप आकर्षक बनेको स्थानीय बताउँछन् । बस्न चारैतिर बेञ्च र ठाउँठाउँमा गमालामा हरियो बिरुवा राखिएका छन् । मुख्य चोकमा व्यवस्थित पार्क निर्माण भएपछि नागरिकले सहजका साथ आराम गर्न र प्रतिक्षा गर्न पाएका छन् ।
ललितपुरलाई सुन्दर संस्कृतिक सहरका रूपमा स्थापित गर्ने लक्ष्यकासाथ जावलाखेलको ललितमण्डप पसिरलाई व्यवस्थित गरिएको महानगरप्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “जावलाखेल ऐतिहासिक ठाउँ हो । ऐतिहासिक सम्पदाको संरक्षण गर्दैै यहाँको सम्पदाको प्रवर्द्धन र व्यवस्थापनमा महानगर योजनाबद्ध रूपमा लागेको छ ।”
यहाँ हरेक वर्षको रातो मच्छेन्द्रनाथको रथारोहनपछि अन्तिम दिनमा भोटो देखाउने गरिन्छ । ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार रातो मच्छिन्द्रनाथको रथ तानेपछि राष्ट्र प्रमुखद्वारा भोटो देखाउने अन्तिम दिन यहाँ राखिएका गमला र बेञ्चहरू अर्को ठाउँमा सारिन्छ ।
ललितमण्डप छेउमा रहेका पाटी ९फल्छा० र जावलाहिटी गैरेधारा भने ललितपुर महानगरले यसअघि पुनःनिर्माण गरिसकेको छ । ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुनःनिर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरी निर्माण गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए।
नजिकै रहेको सदर चिडियाखाना, जिल्ला प्रहरी परिसरलगायत अन्य सरकारी कार्यालय यहाँ रहेकाले पनि जावलाखेल चोकको ललितमण्डप परिसरमा निर्मित पार्क आमनागरिकका लागि उपयोगी हुने उनले विश्वास व्यक्त गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया