रातो कागज

पोखरा । पोखराको तेसापट्टीमा पहिला कल्पना सिनेमा हल रहेको जग्गामा प्रतिभा एजुकेशन फाउण्डेशनले एभरग्रिन एकेडेमी नाममा नयाँ शैक्षिक संस्था संचालनमा ल्याउने भएको छ ।
विद्यालय शिक्षामा तल्लो तहदेखि नै अन्तर्राष्ट्रियस्तरको पठनपाठन संचालन गर्ने उद्देश्ले एभरग्रिन एकेडेमी संचालनमा ल्याउन लागिएको हो ।
‘स्टिम वेस’मा आधारित रही पठनपाठन हुने एभरग्रिनलाई सुविधा सम्पन्न बनाइने एकेडेमी निर्देशक किरण सापकोटाले बताए । साढे ५ रोपनी क्षेत्रफलमा हाल निर्माणाधीन रहेको साढे ५ तलाको उक्त भवन निर्माणका लागि हालसम्म ५० करोड रुपैयाँ खर्च गरिसकिएको र अझै खर्च बढ्ने उनले बताए ।
एकेडेमी निर्देशक किरण सापकोटाले उक्त एकेडेमीमा आगामी शैक्षिक सत्रका लागि कक्षा नर्सरीदेखि ५ सम्म भर्ना शुरु गरिसकिएको जानकारी दिए । प्रत्येक कक्षामा अधिकतम् २४ जनाभन्दा बढी विद्यार्थी नराखिने उनले बताए । उनले भने, ‘यहाँ शुल्क त्यस्तो महँगो हुँदैन । विभिन्न सेवासुविधा उपलब्ध हुने भएकाले पोखरामा निजी विद्यालयले लिने शिक्षण शुल्क भन्दा केही मात्र बढी हो ।’
प्रतिभा माविको सफलतासँगै विद्यार्थीको बौद्धिक विकास र व्यक्तित्व निर्माणमा सशक्त बनाउन फाउण्डेशनले विद्यार्थीको आवश्यकता र क्षमताअनुसारको पाठ्यक्रम बनाएर प्रयोग गर्ने, विद्यार्थीको व्यक्तिगत आवश्यकतामा ध्यान दिई उनीहरुको समग्र व्यक्तित्व विकासको लागि विशेष योजना पनि बनाउने, शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई प्राथमिकता दिने फाउण्डेशन अध्यक्ष नारायण पौडेलले जानकारी दिए ।
उनका अनुसार एभरग्रिन एकेडेमीमा नवीनतम् प्रविधिको प्रयोग गरिने छ । विद्यार्थीले स्मार्ट क्लास रुम, विभिन्न डिजिटल उपकरण र इन्फर्मेशन टेक्नोलोजी माध्यमबाट सिकाइ अनुभव गर्न सक्ने छन् ।
विद्यार्थीमा टीमवर्क र सहकार्यलाई बढावा दिन परियोजनामा आधारित सिकाइको पनि प्रयोग गरिनेछ । लिफ्ट सुविधा रहेको एकेडेमीमा विद्यार्थीका निम्ति ल्याब, योगा, ध्यान, म्यूजिक, डान्स, आर्टस्का कक्षाहरु संचालित हुने छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया