News and Updates

बाजुरा, १४ चैत । यहाँको बूढीगङ्गा नगरपालिका–८ की रङ्गी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई आज नेपाली नागरिकता प्रदान गरे । उनलाई पहिलेदेखि नेपाली नागरिकता दिलाउन प्रयास गरिएपनि कानुनी जटिलताका कारण नसकेको सो वडाका वडाअध्यक्ष रमेश रावलले बताए ।
वडाअध्यक्ष रावलका अनुसार नेपालीको एक छोरीले विवाह गरेर गएपछि साहाराविहीन बनेकी उनी नागरिकता नहुँदा नगरपालिकाबाट प्राप्त सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो ।
वडाध्यक्ष रावलले ती वृद्धाको आफन्त कोही नभएपछि आफैँले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको बताए ।
नागरिकता पाएपछि नेपालीले खुसी व्यक्त गरेका छन् । आफ्नो सबै थोक नाताले भाई पर्ने रमेश रावल भएको प्रतिक्रिया उनले दिए । “वडा अध्यक्षके कारणले मैले आज नागरिकता पाएँ”, नेपालीले भने ।
उहाँको श्रीमान बितेको २२ वर्ष भएपनि हालसम्म कानुनी प्रक्रिया नपुगेपछि नागरिकताबाट बञ्चित भएका थिए ।
नेपाली नागरिक भएको र स्थायी बसोबास गर्दै आएकी वृद्धालाई कानुनी प्रावधान पुरा गरी आज नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।
जिल्लाका दुर्गम बस्तीमा कतिपय नगारिकले समयमै नागरिकता नपाउँदा समस्या झेल्दै आएकाले प्रशासनमा वडाबाट सिफारिस भएर आएका नागरिकलाई कानुनी रूपमा समस्या नआउने गरी नागरिकता दिने गरेको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया