Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सबै समुदायको आस्थाको केन्द्र बन्दै ‘विक्रमबाबा’

News and Updates
3 दिन अघि

चितवन, १५ चैत । यहाँका आदिवासी थारु समुदायले सदियौँदेखि पुज्दै आएको विक्रमबाबालाई अहिले सबै समुदायले आस्थाको केन्द्र बनाएका छन् ।

थारु समुदायले तीनै लोकका ठकुराइन मालिक का रुपमा पुज्ने गरेको विक्रमबाबालाई पछिल्लो समय सबै जातजातिले पुज्ने गरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जभित्र रुखको फेदमा रहेको विक्रमबाबा पूजास्थलमा तराई र पहाडी मूलका साथै सबै जातजातिले पुज्ने गरेका छन् ।

थारु कल्याणकारी सभा चितवनका सचिव एवं पत्रकार सन्तकुमार चौधरी थारु समुदायको पनि गुरौँ घरानाले मात्रै पुज्ने गरेको विक्रमबाबामा विस्तारै थारुकै अरु समुदाय पनि भाकल गर्न जाने गरेको बताउछन् ।

उनले भने, “थारु समुदायको पनि गुरौँ घरानाले मात्रै पुज्दथे, विस्तारै थारु समुदायका अरुले भाकल गर्ने र पूजा गर्न थाले, अहिले सबै समुदाय भाकल गर्ने र पूजा गर्न जाने गरेका छन् ।” पछिल्लो समयमा पूजा विधिमा विकृति आउँदै गएको उनको भनाइ छ ।

पत्रकार चौधरीले भने, “परम्परागत पूजा विधिभन्दा बाहिर गएर पूजा हुन थालेको छ, अन्य मठमन्दिरमा जस्तो पूजा विक्रमबाबामा हुने गरेको छ ।” विक्रमबाबाको छट्टै पूजा विधि रहेको उनले बताए । उनले भने, “पहिले भाकल पूरा भएपछि बलि दिने चलन थियो, अहिले सुरुमै बलि चढाउन जाने गरेका छन् ।”

सन्तान नहुनेले सन्तान माग्ने र सन्तान प्राप्तपछि छोरा भए विक्रम र छोरी भए विक्रमियाँ नामकरण गर्ने गरेको उनले सुनाए । उनले भने, “भाकल गरेर सन्तान भएपछि ‘एसरमवा’ भनेर पनि नामकरण गरिन्थ्यो ।”

विक्रमबाबामा बलि चढाइसकेपछि सोही ठाउँमा खाएर आउनुपर्ने परम्परा रहेको चौधरीले बताए । उनले भने, “अहिले बलि चढाएर घरमै ल्याउन थालिएको छ, यो परम्परा विपरित छ ।” ऐना, काइँयो, पोते जस्ता वस्तु चढाउन थालिएको भन्दै पत्रकार चौधरी यस्तो परम्परा विगतमा नरहेको बताउछन् ।

परम्परागत पूजा विधिलाई कायम गराउन थारु कल्याणकारी सभा लागिपरेको उनको भनाइ छ । बोका, परेवाजस्ता पशुपछीको विक्रमबाबामा बलि दिने चलन रहेको छ ।

हरेक वर्ष जस्तै यस वर्ष पनि चैत कृष्णपक्ष औँसीका दिनदेखि शुक्लपूर्णिमासम्म विक्रमबाबामा पूजा र मेला लाग्ने भएको छ ।

यही चैत १६ गते अर्थात् शनिबार बिहानबाट विक्रमबाबामा पूजा एवं मेला सुरु हुने थारु कल्याणकारी सभा चितवनले जनाएको छ ।

पूजा व्यवस्थापनका लागि केरुङ्गा मध्यवर्ती सामुदायिक वन, पटिहनी उपभोक्ता समिति र घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि खटिनेछन् ।

मेला व्यवस्थापनका लागि घैलाघारी मध्यवर्ती सामुदायिक वनले काम गरिरहेको केरुङ्गा उपभाक्ता समितिका अध्यक्ष अर्जुन भुजेलले बताए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाले पूजा स्थलको सुरक्षासहित अन्य व्यवस्थापनमा सहयोग गर्नेछन् ।

भरतपुर महानगरपालिका–२३ को संरक्षकत्वमा मेला सुरु गर्न लागिएको हो । पहिलो पटक थारु समुदायका गुरुलाई मुख्य पुजारीका रुपमा तोकेर पूजाको तयारी गरिएको छ ।

तयारीस्वरुप पूजास्थलको सरसफाइ, खानेपानी, हेल्प डेस्क, दमकल, एम्बुलेन्स र पानीट्याङ्कीको व्यवस्था गरिएको छ ।

विभिन्न उपसमिति गठनगरी तयारी गरिएको पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शङ्कर महतोले बताए। उनका अनुसार आउने भक्तजनलाई लक्षित गर्दै चार तहबाट सुरक्षा व्यवस्था गरिएको छ ।

पूजा स्थलमा नेपाली सेना, मेला व्यवस्थापनका लागि नेपाल प्रहरी, नगर प्रहरी र स्वयंसेवक परिचालन गरिनेछ ।

पार्किङ व्यवस्थापन, बजार व्यवस्थापन, मेला व्यवस्थापनलगायत काम भइरहेको उनले बताए । मेलाका संरक्षक वडा नं २३ का अध्यक्ष दीपक दवाडीका अनुसार मेलामा ३०० स्टल’ रहनेछन् ।

त्यहाँ भक्तजन ठगिनु नपरोस् भनेर मूल्यसूची टाँसिनेछ । विद्यालयको वार्षिक परीक्षा सकिएकाले यस वर्ष आठ लाखभन्दा बढी भक्तजन मेला भर्न आउने अनुमान गरिएको उनको भनाइ छ ।

चैत ३० गतेसम्म सञ्चालन हुने पूजा एवं मेलालाई व्यवस्थित गर्न स्थानीय जुटेका छन् । बिहान ७ देखि बेलुका ५ बजेसम्म पूजाका लागि निकुञ्जमा प्रवेश खुला गरिनेछ भने मेला बिहान ६ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिनेछ ।

पूजा निकुञ्जभित्र भए पनि मेला भने भरतपुर–२३ स्थित घैलाघारी सामुदायिक वनको चौरमा हुनेछ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया