News and Updates

काठमाडौँ, १७ चैत । प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर सुरु हुन्छ । आज बिहानदेखि ‘सिद्धार्थी’ नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
सिद्धार्थी नामको संवत्सर ६० संवत्सरमध्ये ५३औँ संवत्सर हो । शनिबारसम्म ५२औँ कालयुक्त नामको संवत्सर धार्मिक कर्मको सङ्कल्पमा उच्चारण गरिन्थ्यो । चैत्र शुक्ल प्रतिपदाका दिनमा जुन संवत्सरले भेट्छ वर्षभरका धार्मिक कर्ममा त्यही संवत्सरको उच्चारण गरिन्छ ।
जसअनुसार आजदेखि धार्मिक कर्ममा सङ्कल्प गर्दा सिद्धार्थी नामक संवत्सरको उच्चारण हुन्छ । यो उच्चारण अर्को वर्ष चैत्र कृष्ण औँशीसम्म जारी रहन्छ ।
यो वर्ष सिद्धार्थी नाम गरेको संवत्सर रहेकाले सबै काम सिद्धि हुने फल जनाइएको छ । यस्तो फल ‘बृहत्संहिता’ नामक ज्योतिष शास्त्रलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।
ब्रह्मपुराणले चैत्रशुक्ल प्रतिपदाबाट सृष्टि आरम्भ भएको उल्लेख गरेको छ । भगवान् ब्रह्माले चैत्र शुक्ल प्रतिपदाबाट नै सृष्टिगरी सत्ययुगको प्रारम्भ भएको शास्त्रीय मान्यता छ ।
ज्योतिषमा चान्द्रमासका आधारमा चैत्रशुक्ल प्रतिपदाबाट कालगणना गरिन्छ । चान्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन संवत्सर सुरु हुन्छ ।
विक्रमादित्यका नामबाट चलेको विक्रम सम्वत्मा सौरमासका आधारमा वैशाख महिनादेखि वर्ष सुरु हुन्छ । आजका दिन प्रत्येक घरमा ध्वजा सजाउने प्राचीन परम्परा छ । आज ब्रह्मा र ज्योतिषीको पूजा गरी वर्षफल श्रवण गर्ने, निमको पात खाने गरिन्छ ।
ऋतु परिवर्तनका बेला रुघाखोकी लाग्ने भएकाले पनि निमको पात खानुपर्ने विधान प्राचीनकालदेखि सुरु गरिएको हो । विभिन्न रोगबाट बच्न पनि प्राचीनकालमा यस्तो परम्परा सुरु गरिएको आयुर्वेद शास्त्रीय मत छ ।
सिद्धान्त शिरोमणि नामको ग्रन्थमा भाष्कराचार्यले चैत्र शुक्ल प्रतिपदाका दिनदेखि संवत्सर आरम्भ भएको उल्लेख गरेका छन् । यसबेला चिसो कम हुँदै जाने भएकाले प्राकृतिक रूपमा पनि वसन्त ऋतुदेखि नयाँ संवत्सरको आरम्भ भएको विश्वास गरिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया