News and Updates

मनाङ, १७ चैत । जिल्लाका सबै पालिकामा गोदामघर निर्माण गरिने भएको छ । गृह मन्त्रालयको निर्णयानुसार विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका चारवटै पालिकामा गोदामघर निर्माण गरिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद्मा जिल्लावासीलाई सुरक्षित राख्न गोदामघर निर्माण गर्ने निर्णय भएको हो ।
चारवटै पालिकामा खुला क्षेत्र पहिचान गरी विपद्का बेला उपयोग गर्नेगरी आवश्यक सामग्री र सुरक्षित बसोबासका लागि गोदामघर निर्माण गर्ने निर्णय भएको प्रजिअ आचार्यले बताए ।
उनले भने “गृहमन्त्रालयबाट निर्देश भएअनुसार सुरक्षालाई मध्यनजर गरी गोदामघर निर्माण गर्न खुला क्षेत्र पहिचान गर्ने तयारीमा छौँ । विपद्मा आमनागरिकलाई आवश्यक सामग्री र बस्ने व्यवस्थाका लागि गोदामघर सहयोगी बन्ने विश्वास छ ।” विगतमा भएका विपद्मा खाद्यान्न अभाव भएजस्तो समस्या आउनबाट रोक्न गोदामघर सहयोगी बन्ने उनको भनाइ छ ।
गत वर्षको वर्षामा तिमाङको पुल नजिक थुप्रिएका अनावश्यक वस्तु हटाएर बाटोलाई सहज बनाउनुका साथै थप क्षति हुुनबाट जोगाउन सम्बन्धित निकायलाई पत्रचार गरिएको प्रजिअ आचार्यले बताए । “साँघुरो सडकमा सामग्री राख्दा यात्रुलाई समस्या हुने गरेको छ, यसको समाधानमा जुटेका छौँ”, उनले भने ।
इलाका प्रहरी कार्याललाई तिमाङमा रहेको पाँच रोपनी क्षेत्रफलमा तिमाङ पुलमा थुप्रिएका अनावश्यक वस्तु स्थान्तरण गर्ने तयारी गरिएको उनले बताए । यसले स्थानीयका साथै प्रहरीलाई पनि सुरक्षित बनाउने उनको विश्वास छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया