News and Updates

काठमाडौं । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहणको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव मनाइने भएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजङ्घा आरोहणको ७० औं वार्षिक उत्सव अर्थात् हीरक महोत्सव मनाउन लागिएको जानकारी दिएको हो ।
परिषद्ले सदरमुकाम फुङ्लिङमा २०८२ साल वैशाख ५ देखि ७ गतेसम्म तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइने जानकारी दिएको हो ।
कञ्चनजङ्घा हीरक महोत्सव परिषद्को मुख्य कार्यालय रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा आयोजना गरिनेछ ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी पर्यटन विकास र प्रवर्धन गर्ने उद्देश्यले हीरक महोत्सव आयोजना गर्न लागिएको परिषद्ले जनाएको हो ।
परिषद्का अनुसार महोत्सवमा कञ्चनजङ्घा संरक्षण क्षेत्र भ्रमणका लागि पदयात्रा गर्न आह्वान गर्ने, यहाँँको पर्यटकीय गन्तव्य तथा स्थलको फोटो प्रदर्शनी, स्थानीय समुदायको संस्कार र संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रवद्र्धन र प्रचार, खाद्य परिकारको प्रदर्शनीजस्ता गतिविधि हुनेछन् । यस्तै खुला पुरुष भलिबल प्रतियोगिता पनि सञ्चालन गरिने छ ।
पर्वतारोहण गतिविधिलाई थप व्यवस्थित र सुव्यवस्थित गर्न पदयात्रा र पर्वतारोहणमा नयाँ प्रविधि, सुरक्षा उपाय, पर्यावरण मैत्री अभ्यास, पर्वतीय खेलकुद, आरोहण अनुमति, शुल्क र अन्य क्षेत्रमा नेपाल सरकार, पर्वतारोहण संघहरू र स्थानीय सरोकारवालाहरूबीच छलफल गर्न सहजीकरण गर्ने पनि परिषद्ले जानकारी दिएको छ ।
कञ्चनजङ्घाको पहिलो आरोहणको ऐतिहासिक ७० औँ वार्षिकोत्सव बैशाख ११ गते अलफ्ट होटल काठमाडौंमा मनाइनेछ । कार्यक्रममा सरकारी नेता, अन्तर्राष्ट्रिय संस्था, पर्वतारोही, सञ्चारमाध्यम र निजी क्षेत्रको सहभागिता रहनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया