News and Updates

रौतहट । रौतहटका मुस्लिम समुदायहरु हर्षोल्लासका साथ ईद उल फित्र पर्व मनाइरहेका छन् ।
मुस्लिम धर्मावलम्बिहरुको ठूलो चाडको रूपमा इदलाई लिने गरिन्छ । यो चाड इस्लामिक पात्रो अनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।
एक महिनाको (रमजान)व्रतपछि मुस्लिम समुदायका पुरुषहरु एकै ठाँउमा भेला भइ नमाज पढेपछि, एक अर्कालाई अंकमाल गरी शुभकामना आदान प्रदान गरि मिठा परिकारहरु खाएर यो चाड मनाउने गरिएको राजपुरका स्थानीय इस्तियाक अहमदले बताए ।
उनका अनुसार इद उल फित्रका दिन नातेदार तथा इष्ट मित्रको घरमा गएर खास सेवई (मैदाबाट बनेको परिकार ) खाने प्रचलन छ । यो पर्व आपसी मेलमिलाप, प्रेम र दयाको सन्देश बोकेको उनको भनाइ छ ।
इदको दिन गरीब, अनाथ तथा असहायहरु पनि कोही भोको नरहुन भनेर त्यस्ता सबैलाई दान दिएर मिठो परिकार खुवाइने प्रचलन कायम नै रहेको उनले उल्लेख गरेका छन । यहाँको राजपुर नगरपालिका वडा नम्बर ३ मा रहेको स्थानीय इदगाहमा बिहान सामुहिक रूपमा नमाज पढिएको उनले जानकारी दिए ।
अहिले चन्द्रपुर, गरुडा, गौरमा रहेका इदगाह तथा मस्जिदहरु, राजपुर, भगवानपुर, भेडियाही लगायतका दर्जनौ मस्जिदहरुमा मुस्लीम समुदायले इदको नमाज पूरा गरेका छन् ।
मौलाना मोहम्मद जाकिर हुसैनका अनुसार मुस्लिम समुदायको १२ महिनामध्ये रमजानलाई महत्वपूर्ण मानिन्छ । यो महिनामा सात वर्षभन्दा बढी उमेरका युवायुवतीले रोजा (उपवास) राख्नुपर्ने धार्मिक कर्तव्य (फर्ज) रहेको उनको भनाइ छ ।
यो महिनामा मुस्लिम समुदायका मानिसहरूले आफ्नो एक वर्षसम्म गरेको व्यापार अथवा मजदुरी केहि अंश मदरसा वा अति विपन्न परिवारलाई सहयोग गर्ने चलन छ । यस पर्वको अवसरमा नेपाल सरकारले सर्वजनिक बिदा दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया