Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथ रथ यात्राको शुभारम्भ

News and Updates
2 दिन अघि

नवलपरासी बर्दघाट सुस्ता पश्चिम, १८ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि ऐतिहासिक रथ यात्राको शुभारम्भ गरेका छन् ।

कालीगण्डकीका शालिग्राम तथा मुक्तिनाथको प्रचारप्रसार तथा धार्मिक आस्थालाई एकअर्कासँग जोड्ने उद्देश्यले आयोजना गरिएको यस यात्रामा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहनेछ ।

कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्पअनुसार सुरु गरिएको रथ यात्रा त्रिवेणी, देवघाट, पोखरा, बागलुङ हुँदै मुक्तिनाथ पुग्नेछ ।

यात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकीय गन्तव्यलाई एकआपसमा जोड्न आवश्यक रहेको उल्लेख गर्दै लुम्बिनी प्रदेशमा पर्यटन सर्किट निर्माण थालिएको जानकारी दिए ।

साथै, छिमेकी प्रदेश र अन्य क्षेत्रका धार्मिकस्थललाई परस्पर सम्बन्धित गर्दै पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।

गण्डकीका शालिग्राम र मुक्तिनाथको प्रचारप्रसार गर्ने लक्ष्य राखिएको यस रथ यात्राले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

पर्यटकीय दृष्टिकोणले सुन्दर र पवित्र भूमि त्रिवेणी धामबाट सुरु भएको यो यात्रा श्रद्धालुका लागि महत्वपूर्ण रहनेछ ।

यात्रा शुभारम्भका अवसरमा लुम्बिनी प्रदेशका वन मन्त्री देवकरण कलवार, प्रदेशसभा सदस्य निमा गिरी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोख्रेललगायत जनप्रतिनिधि, उद्योगी, व्यवसायीलगायतको उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया