Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

देशभरका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्ने

News and Updates
2 दिन अघि

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै काम डिजिटल गर्नको लागि देशभरका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एपीटी वायरलेस समूहको ३४ औं बैठकमा उनले सरकार अहिले एआइको नीति र देशको प्रमुख शहरहरुमा फाइभजी सेवा दिने योजनामा रहेको भन्दै देशमा प्राविधिक विकास गर्नको लागि सिस्टमहरुलाई डिजिटलाइज गर्दै जानुपर्ने बताए ।

उनले भने, ‘हामी अहिले एआईको नीतिमा काम गर्दैछौ र देशका प्रमुख शहरहरुमा फाइभजी सेवा दिने योजनामा पनि छौ । कागजबिना सबै काम डिजिटल रुपमा गर्ने जुन लक्ष्य राखेका छौ त्यसको लागि देशभर भएका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्छ ।’

यसका साथै, उनले फाइभजी र एआइको लक्ष्य पूरा गर्नको लागि वायरलेस प्रविधि डिजिटल परिवर्तनको लागि एकदमै महत्वपूर्ण हुने भन्दै यसको लागि र नेपाललाई आइटी हब बनाउन सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

वायरलेस प्रविधि आर्थिक विकास, नवीकरण र संयोजनको लागि महत्वपूर्ण विषय भएको भन्दै भौगोलिक हिसाबले नेपाल जस्तो हिमाली देशहरुको लागि यो प्रविधि एकदमै सुहाउँदो हुनेपनि उनको भनाइ छ ।

उनले भने, ‘तीव्र रुपमा प्राविधिक विकास गर्नको लागि वायरलेस प्रविधि र नीतिगतको ढाँचा आवश्यक हुन्छ । वायरलेस सञ्चार आर्थिक विकास, नवीकरण र संयोजनको लागि एउटा महत्वपूर्ण विषय हो । नेपाल प्राकृतीले धनी र सांस्कृतिक विविधता भएको देश हो । भौगोलिक हिसाबले नेपालमा हिमाल र उर्बर जमिनहरु छन् यस हिसाबले पनि वायरलेस प्रविधि नेपाल जस्तो हिमाली देशहरुको लागि एकदमै सुहाउँदो हुन्छ ।’
आजको मिटिङले प्राविधिक विकासको लागि एउटा राम्रो मञ्च प्रदान गर्ने पनि उनको विश्वास रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया