Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जनताले चाहे गणतन्त्र क्षणभरमै जान्छ : राजेन्द्र लिङ्देन

News and Updates
2 दिन अघि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि नटिक्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले माओवादीलगायतका दललाई ‘तपाईँहरु मान्छे नमारी, तोफोड नगरी आएको हो ?’ भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि टिक्न सक्दैन । गणतन्त्र जान्छ । त्यसकारण जनताको, युवाको शक्तिलाई होच्याउने काम नगर्नुस् । चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? नियन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईं कांग्रेस, एमाले भन्नेहरु आज यो सत्तामा भजन–किर्तन मादल बजाउँदै आइपुगेको हो ? तपाईंहरु तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ? त्यसकारणले सविन महर्जन हिँडिरहेको बेला गोली किन हानियो, छतमाथि बसेर अश्रुग्यास किन प्रयोग गरियो ? त्यसको जवाफ चाहिन्छ ।’

साथै उनले गणतन्त्रवादी नेताहरुले व्यवस्थाको नाममा लुट मच्चाइरहेको आरोप लगाएका छन् । उनले किर्ते कुराले अबको युवा पुस्ता नमान्ने बताए ।

उनले भने,‘कथाले, शब्द जालले अबको पुस्ता मान्नेवाला छैनन् । तपाईँको मिथ्याङ्कले, मिथ्या इतिहासले अबको पुस्ता मान्नेवाला छैनन् । अहिलेको डिजिटल युवा, अहिलेको सूचना प्रविधिका युवा यसबाट राम्रो परिचित छ । तपाईँले राजा किन हटाउन खोज्नु भएको रहेछ, राजा हटाएपछि नारायणहिटीमा तुरुन्तै व्यापार गर्न कसले खोज्यो ? के–को लागि तपाईँले राजा हटाउनु भएको रहेछ, युवा पुस्ताले हेरिरहेको छ । राजा हटाएर देशमा लोकतन्त्र र गणतन्त्रको नाममा कुन प्रकारको लुटतन्त्र मच्चाइरनु भएको छ ? जनताले हेरिरहेका छन् । तपाईँको किर्ते कुराले अबको युवा पुस्ता मान्दैनन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया