Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको छः प्रधानमन्त्री

News and Updates
6 दिन अघि

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको बताएका छन् ।

थाइल्याण्डको बैङ्ककमा जारी छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका लागि यो जोखिम अझ बढी रहेको उल्लेख गरे ।

“यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पु¥याइरहेका छन्, तर हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ”, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले जलवायुको प्रभाव हिमालमा मात्र सीमित नभई तराई र तटीय क्षेत्रहरूमा पनि परेको बताए । “हिमालहरूको पीडा र हिमाल तथा समुद्रबीचको सम्बन्धलाई उजागर गर्न, नेपालले आगामी मे महिनामा सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्दैछ र म यहाँहरू धेरैलाई त्यहाँ देख्न उत्सुक छु”, उनले भने ।

जलवायुको प्रभावका कारण तटीय क्षेत्रहरूमा पनि समुद्री सतह बढिरहेको र आँधीका घटना तीव्र हुँदै गइरहेको उल्लेख गर्दै उहाँले बिम्स्टेक क्षेत्रले हिमपहिरो, चक्रवात, मेघगर्जनसहितको वर्षा, तातो हावा र खडेरीजस्ता चरम मौसमी घटनाहरूको सामना गरिरहेको बताए ।

“हाम्रा जनता र हाम्रो भविष्यको रक्षा गर्न हामीले निर्णायक रूपमा कार्य गर्नु अनिवार्य छ, जलवायु परिवर्तनसम्बन्धी मुद्दामा सामुहिक रुपमा काम गर्न जरुरी छ”, प्रधानमन्त्री ओलीले भने ।

उनले जलविद्युत् क्षेत्रमा लगानी गरेर सीमापार ऊर्जा ग्रीड र नवीकरणीय ऊर्जा परियोजनामार्फत क्षेत्रीय ऊर्जा व्यापार बढाउनपर्ने आवश्यकता औँल्याए । साथै उनले बढ्दो व्यापार तनाव र आपूर्ति शृङ्खला अवरोध हटाउँदै द्रुत प्राविधिक परिवर्तनलाई आत्मसाथ गरी सहकार्य गर्नुपर्नेमा जोड दिए।

“विपद् पूर्वतयारी, सार्वजनिक स्वास्थ्य सेवा र समावेशी आर्थिक नीतिहरू हाम्रो क्षेत्रीय मुद्दाको केन्द्रमा रहनुपर्छ, सामाजिक र सांस्कृतिक सद्भावलाई प्रवद्र्धन गरिनुपर्छ, र समुदायको बलियो भावनालाई बढावा दिनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “दिगो विकास लक्ष्यहरूलाई राष्ट्रिय र क्षेत्रीय नीतिगत ढाँचाहरूसँग एकीकृत गरी न्यायपूर्ण, समावेशी ढङ्गबाट सम्बोधन गर्नुपर्छ ।”

सम्मेलनको सफलता र बिम्स्टेक सदस्य राष्ट्रका जनताको चिरस्थायी शान्ति, कल्याण र समृद्धिका लागि आफू तीन करोड नेपाली जनताको सन्देश लिएर यहाँ आएको उल्लेख गर्दै उनले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात र सरकारलाई न्यानो आतिथ्यता र शिखर सम्मेलन आयोजनाका लागि प्रशंसा र आभार व्यक्त गरे ।

साथै उनले विनाशकारी भूकम्पका कारण भएको धनजनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट म्यानमार तथा थाइल्याण्डका सरकार एवम् जनताप्रति समवेदना र सहानुभूति व्यक्त गरे ।

“बिम्स्टेकको सुरुआत यही सहरबाट भएको पनि दुई दशकभन्दा बढी भइसकेको छ । यस अवधिमा हामीले बङ्गालको खाडी क्षेत्र र त्यसभन्दा पर आमूल परिवर्तन र रूपान्तरण देखेका छौं”, उनले भने, “यी दुई दशकमा बङ्गालको खाडी विश्वव्यापी आर्थिक परिदृश्यमा सबैभन्दा तीव्र गतिमा विकास भइरहेका क्षेत्रमा परेको छ, तथापि चुनौतीहरू कायमै छन् । शान्ति र समृद्धिको खोजी जारी छ ।”

सम्मेलनको विषयले हामीलाई मार्गनिर्देश गर्छ

आर्थिक असमानता, वातावरणीय जोखिम र राजनीतिक अनिश्चितताका चुनौतीका बीचमा बिम्स्टेकलाई कुशलतापूर्वक अघि बढाउनु आवश्यक छ । साथै क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्न समेत जरुरी रहेको उनको भनाइ थियो । “म विश्वास गर्छु कि, शिखर सम्मेलनको विषय ‘सम्पन्न, उत्थानशील र खुला बिम्स्टेक’ले हामीलाई त्यो मार्गनिर्देश प्रदान गर्दछ”, उनले भने ।

बिम्स्टेकले दुई गतिशील क्षेत्रहरू दक्षिण एसिया र दक्षिणपूर्वी एसिया बीचको एक अद्वितीय सहकार्यको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एक अद्वितीय पुलको रूपमा यसले एक अर्ब ८० करोडभन्दा बढी जनताको सामूहिक आकाङ्क्षालाई समेट्ने बताए ।

दिगो विकासका लक्ष्यहरू सम्पन्नता, उत्थानशीलता र खुलापनसँग नेपालको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’सँग पनि गहिरो रूपमा प्रतिध्वनित रहेको उनको भनाइ थियो । “आजको विषय केवल एक नारा होइन, यो कार्य गर्नका लागि आह्वान हो । यी तीन प्राथमिकताहरूले हाम्रो आगामी मार्ग तय गर्नेछन्”, प्रधानमन्त्री ओलीले भने ।

बिम्स्टेक क्षेत्र प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र युवा जनशक्तिले समृद्ध रहेको र हिमालय शृङ्खलादेखि बङ्गालको तटसम्म प्रचुर सम्भावनाले भरिपूर्ण रहेको उहाँले उल्लेख गरे ।

यस क्षेत्रको अपार सम्भावनालाई ध्यानमा राख्दै समृद्धि केवल इच्छा मात्र होइन यो प्राप्त गर्न सकिने लक्ष्य समेत भएको उनको भनाइ थियो । “तर लक्ष्यमा पुग्न हामीले यसलाई रणनीतिक रूपमा उपयोग गर्नुपर्छस यसलाई दिगो रूपमा मानव पुँजीमा लगानी गर्नु आवश्यक छ”, उनले भने ।

काठमाडौँमा भएको चौथो बिम्स्टेक शिखर सम्मेलनले शिक्षा, सीप विकास र क्षमता अभिवृद्धिमा क्षेत्रीय सहयोगको महत्त्वमा जोड दिएको अवगत गराउँदै प्रधानमन्त्री ओलीले क्षेत्रीय अन्तरआबद्धता हाम्रो समृद्धिको खोजीमा एक महत्त्वपूर्ण स्तम्भ रहेको उल्लेख गरे ।

“बजार र मस्तिष्कको अन्तरआबद्धता, पूर्वाधार र विचारहरूको अन्तरआबद्धता, संस्कृति र साइबरको अन्तरआबद्धता विकासको अर्को मेरुदण्ड हो”, उनले भने ।

बिम्स्टेकको समृद्धिका लागि अन्तरआबद्धतामा जोड

बिम्स्टेक यातायात अन्तरआबद्धता गुरुयोजना र बिम्स्टेक सामुद्रिक यातायात सहयोग सम्झौताको समयबद्ध कार्यान्वयनले यस सम्बन्धमा महत्त्वपूर्ण प्रगति ल्याउने उनको भनाइ थियो ।

“यो चिन्ताको विषय हो कि बिम्स्टेकमा अन्तर–क्षेत्रीय व्यापार केवल पाँच प्रतिशत मात्र छ, जुन ‘आसियान’, ‘ईयु’ वा ‘नाफ्टा’को तुलनामा धेरै कम छ”, उनले भने। हाम्रो समाज, अर्थतन्त्र र राष्ट्रहरूबीचको प्राकृतिक अन्तरसम्बन्ध बाहेक, हाम्रो क्षेत्र विश्वव्यापी रूपमा सबैभन्दा कम एकीकृत क्षेत्रहरूमध्ये पर्ने बताउँदै उहाँले यो परिवर्तन हुनैपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले यो सम्भावनालाई उजागर गर्न र हामीसँग भएका स्रोत र साधनहरुको लाभ उठाउन एक एकीकृत बङ्गालको खाडी क्षेत्र निर्माण गर्नु अनिवार्य रहेकामा जोड दिए । उनले यस क्षेत्रका सबै अर्थतन्त्रहरू समान छैनन् भन्ने स्वीकार गर्दै, विशेष आवश्यकता भएका सदस्य राष्ट्रहरूलाई साझा समृद्धिमा सहभागी हुन सक्षम बनाउन विशेष अवसर प्रदान गर्नुपर्ने उल्लेख गरे।

आज विश्व एक दोबाटोमा रहेको र विगत केही वर्षहरूमा, पारिस्थितिकीदेखि अर्थतन्त्र, व्यापार तनावदेखि प्राविधिक अवरोध, जलवायु परिवर्तनदेखि द्वन्द्व, महामारीको पीडादेखि ध्रुवीकरणको खतरासम्मका अनिश्चितको विश्वमा उत्थानशीलता सबैभन्दा बलियो प्रतिरक्षा भएको उनको भनाइ थियो ।

एक जीवन्त र गतिशील बिम्स्टेकका लागि, खुलापन आधारशिला भएको बताउँदै उनले राजनीतिक, आर्थिक, पारिस्थितिक र सांस्कृतिक सरोकारहरूलाई समग्र रूपमा सम्बोधन गर्ने दीर्घकालीन स्थायित्वका लागि आवश्यकता औल्याए । “हामीले दिगो पर्यटन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सम्बन्ध, र सीमापार लगानीमार्फत जनस्तरको सम्पर्कलाई बलियो बनाउनुपर्छ”, उनले भने।

बिम्स्टेकभित्र भिसा–अन–अराइभल नीतिले यात्रालाई सहज बनाउन र गहिरो क्षेत्रीय सम्बन्धहरूलाई बढावा दिन एउटा गेम–चेन्जर परिवर्तनकारी हुने उनको भनाइ थियो ।

“हामीले ई–कमर्श, सीमापार भुक्तानी र विद्युतीय शासनलाई सहज बनाउन डिजिटल एकीकरणलाई प्राथमिकता दिनुपर्छ”, प्रधानमन्त्री ओलीले भने । नवीनतालाई बढावा दिन र साझा चुनौतीहरू जलवायु परिवर्तनदेखि खाद्य सुरक्षा, प्रविधि–सञ्चालित आर्थिक रूपान्तरणसम्मलाई सम्बोधन गर्न अनुसन्धान र विकासलाई प्राथमिकता दिनुपर्ने उनको जोड थियो ।

कुनै पनि बिम्स्टेक राष्ट्र पछाडि नछुटोस् भन्ने सुनिश्चित गर्नु सामूहिक जिम्मेवारी भएको उल्लेख गर्दै उनले बिम्स्टेक बडापत्र र यसले कायम राखेका सिद्धान्तहरूप्रति नेपालाको प्रतिबद्धता दोहोर्याए ।

“हामी जनस्तरको सम्पर्क क्षेत्रको नेतृत्व गर्न पाउँदा गर्व गर्दछौं र प्राथमिकताका क्षेत्रहरूमा साझेदारीलाई अझ बलियो बनाउन तत्पर छौं”, प्रधानमन्त्री ओलीले भने, “हामी एक ऐतिहासिक मोडमा उभिएका छौं, आउनुहोस् बङगालको खाडीलाई एक सम्पन्न, उत्थानशील र खुला क्षेत्रमा रूपान्तरण गर्ने हाम्रो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गरौं ।”

प्रधानमन्त्री ओलीले हाम्रो शक्ति एकतामा निहित रहेको र बलियो सहकार्यमा चम्किने उल्लेख गर्दै भने, “भविष्य उनीहरूकै हो जसले तत्परता र दूरदृष्टिका साथ काम गर्छन् । म नेपालमा जन्मिएका शान्तिका अग्रदुत भगवान बुद्धका ज्ञानी शब्दहरूबाट मेरो भनाइ टुङ्ग्याउन चाहन्छु । “तिमीले जतिसुकै पवित्र शब्दहरू पढे पनि, जतिसुकै बोले पनि, यदि तिमी तिनलाई व्यवहारमा उतार्दैनौ भने तिनले तिम्रो के भलो गर्छन् र ”

उनले यस क्षेत्रका जनता र भावी पुस्ताका लागि परिणाम दिने बिम्स्टेक निर्माण गर्न हाम्रा शब्दहरूलाई कार्यमा परिणत गर्न आग्रह गर्दै यस क्षेत्रलाई सम्पन्नता, उत्थानशीलता र खुलापनको गतिशील केन्द्रमा रूपान्तरण गर्नुपर्ने उल्लेख गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले बिम्स्टेक राष्ट्रका अध्यक्षका हैसियतले थाइल्याण्डले विगत तीन वर्षदेखि बिम्स्टेक प्रक्रियालाई दूरदृष्टिका साथ अगाडि बढाएकामा प्रशंसा गरे । उनले छिमेकी बङ्गलादेशलाई आगामी अध्यक्षका रूपमा बिम्स्टेकको नेतृत्व गर्न शुभकामना व्यक्त गर्दै दृढ समर्थनको विश्वास समेत दिलाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया