Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौं, प्रचण्डजी पछि आउनुभयो’

News and Updates
2 हप्ता अघि

२४ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर प्रचण्ड समझदारीमा आएको जिकिर गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ समाजवादी बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त जिकिर गरेका हुन् ।

अध्यक्ष नेपालले तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै माओवादीबाट प्रचण्ड मिसिएको बताए ।

‘ज्ञानेन्द्रले पनि उहिले छोडिसकेको हो । यी जम्मै कुराहरु गर्ने हामी तीन जना नेता हौँ । एउटा गिरिजाप्रसाद कोराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र,’ उनले भने, ‘पछि मात्रै हुन् प्रचण्ड जी । पछि मात्रै हो उहाँहरू आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो ।’

उनले तत्कालीन नेकपा एमालेमा रहँदा आफ्नो पार्टीले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय गरेको दाबी गरे ।

उनले अगाडि थपे, ‘मंसिरमा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो । हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय गरेको साउनमा हो । बसेर सहमति गरेको ११ वैशाख २०६३ मा हो । ११ गते बस्दा म र गिरिजाबाबु थियौँ ।’

कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको अध्यक्ष नेपालले बताए । ‘हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ,’ उनले भने, ‘सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो ।’

‘राजतन्त्र फर्काउने इच्छा छैन ज्ञानेन्द्रलाई’

अध्यक्ष नेपालले पछिल्ला घटनाक्रमप्रति लक्षित गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको बताए ।

‘अहिले राजा फर्काउने कुरा छैन, पूर्वराजाको इच्छा पनि होइन भनेपछि मन शान्त भएको छ । यदि त्यसो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु,’ नेपालले भने, ‘राजनीति गर्नु छ भने पार्टी खोल्नूस् । जनताको बीचमा जानूस् । बहुमत ल्याउनूस् । देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो हो ।’

उनले थपे, ‘हामीले त केपी ओलीलाई समेत राम्रो बन्नुस् भनिरहेका छौँ । हाम्रो सासै गन्हाउने, अनुहार नै मन नपराउने मान्छेलाई त राम्रो गरिदिनूस् भनिरहेका छौँ । हामीले कसैसँग आग्रह पाल्ने, पूर्वाग्रह राखेका छैनौँ ।’

अध्यक्ष नेपालले राजाहरुले विगतमा के काम गरेर अहिले राजा फर्काउने भन्दै प्रश्न गरे । जनताले रोजेको व्यक्तिभन्दा वंशको शासनले देशको भलो गर्न नसक्ने बताउँदै नेपालले वंशको शासन कहिले पनि राम्रो नहुने उल्लेख गरे ।

अध्यक्ष नेपालले राजावादीहरुले मच्चाइरहेको हल्लामा कुनै सत्यता नरहेको बताए । राजावादी नेताहरु पनि सरकारमा रहेको उल्लेख गर्दै उनले अरुलाई दोष दिएर मात्रै नहुने जिकिर गरे ।

राजावादीको आन्दोलनका बेला एमाले, कांग्रेस, माओवादी केन्द्रको पार्टी कार्यालयमा सुरक्षा दिए पनि आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै नेपालले सरकारको आलोचना गरे । उनले आफ्नो पार्टीलाई तत्काल क्षतिपूर्ति दिन माग गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया